बिहीबार, वैशाख १३, २०८१
12:46 | १७:३१

गुल्मीका मृगौला पीडितलाई बेलायतबाट आर्थिक सहयोग

नेपाली लिङ्क जनवरी २५, २०२१


लन्डन । उपचार खर्चको अभावमा परेका गुल्मीका एक मृगौला पीडितको लागि बेलायतका गुल्मेलीहरूले आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं. ४ रेमी निवासी दल बहादुर पुन मगरका लागि बेलायतमा सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो ।

पुनको उपचारको लागि बेलायतबाट पठाइएको २ लाख ७८ हजार ९ सय ९८ रुपैँया गत शनिबार हस्तान्तरण गरिएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रहेका पुनको दुवै मृगौलाले काम गर्न छोडेर सहयोगको याचना गरेपछि बेलायतबाट सहयोग गरिएको हो ।  

जागिरका लागि भारतमा रहँदा दुवै मृगौलामा समस्या देखिएर घर फर्किएका पुनले उपचारको क्रममा सबै पैसा सकिएपछि सहयोगकालागि अपिल गरेका थिए । हाल बुटवलस्थित श्री गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचार खर्च जुटाउन नसकी जीवन मरणको दोसाँधमा रहेका पुनको जीवन रक्षार्थ बेलायतबासी गुल्मेलीहरुको पहलमा रकम संकलन भएको हो । 

संकलित रकम बुटवल नयाँमिलस्थित बिरामी पुन बस्दै आएको घरमै पुगी अनररी सुबेदार मेजर थम्मन सिंह थापा काउचा र रिटायर्ड सुबेदार मेजर तथा अनररी क्याप्टेन खिम थापा काउचाले दल बहादुर पुन मगरलाई हस्तान्तरण गरेका थिए ।

गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष एवम् प्रथम नौमती बाजा गुल्मी यूके समूहका प्रमुख संयोजक ओम थापा काउचा र जमुना पुन रानाको सक्रियतामा बेलायतमा सहयोग संकलन गरिएको थियो । 

‘यस्ता परोपकारी कार्यमा बेलायतबासी गुल्मेलीहरू सधैं सक्रिय रहन्छन्’, संयोजक थापाले भने, ‘गुल्मेलीहरुले यस्ता थुप्रै आपद विपतमा परेकाहरुको जीवन उद्दार तथा राहतका लागि निरन्तर सहयोग गर्दै आएका छौं ।’

मृगौला पीडित पुनको जीवन रक्षार्थ संसारभर छरिएर रहेका गुल्मी चन्द्रकोटबासीहरूले सहयोग संकलन अभियान संचालन  गरिरहेका छन् । बेलायतका साथै हङकङ, जापान, सिंगापुर, कोरिया, अमेरिका, ईजरायल, बेल्जियम र मध्यपूर्वका विभिन्न देशमा सहयोग संकलन अभियान चलाइएको छ ।

परिवार सहयोग अभियानमा सक्रिय सुबेदार रि. नवीन पुनले दिएको जानकारीअनुसार हालसम्म देश विदेशबाट १८ लाख रुपैँया भन्दा बढी सहयोग संकलन भइसकेको छ । सहयोग संकलनसँगै बिरामीको मृगौला प्रत्यारोपणको प्रक्रिया पनि अघि बढिसकेको पुनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू