बिहीबार, चैत १५, २०८०
09:49 | १५:३४

तीन लेखकका तीन ओटा कृतिको सामूहिक विमोचन

नेपाली लिङ्क अक्टोबर २४, २०२०


लन्डन–कवि कृष्ण उपाध्यायको ‘जदौ काठमान्डू’ लगायत तीनजना लेखकका तीन ओटा साहित्यिक कृतिको शुक्रबार सामूहिक विमोचन गरिएको छ ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायतद्वारा आयोजित भर्चुएल कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. गोविन्दप्रसाद भट्टराईले वासुदेव अधिकारीको कृति ‘बस्तीमा आगो’, अमेरिकामा बसोबास गर्ने साहित्यकार भारती गौतमको कृति ‘विगत र बाडुली’ र डा. उपाध्यायको कविता संग्रह ‘जदौ काठमान्डू’ विमोचन गरे । 

सो अवसरमा बोल्दै प्रा. भट्टराईले नेपाल बाहिर बसोबास गरिरहेका नेपाली साहित्यकारहरुको रचना कृति डायस्पोरिक साहित्यले नेपाली साहित्यलाई समृद्ध बनाइ रहेको बताए । उनले प्रवासमा रहेका नेपाली लेखक, साहित्यकारहरुलाई कलम चलाई रहन पनि आग्रह गरे । डायोस्पोरा लेखनको चर्चा गर्दै उनले नेपाल बाहिरबाट राम्रा साहित्यिक कृतिहरु प्रकाशन भइरहकोमा खुशी व्यक्त गरे ।

विमोचित कृति ‘बस्तीमा आगो’ को समीक्षा गर्दै डा. लेखप्रसाद निरौलाले अधिकारीको कृति लकडाउनका बेला संस्मरणको रुपमा आएको बताए । समीक्षक डा. विदुर चालिसेले भारती गौतमको कृति ‘विगत र बाडुली’मा संवेदनात्मक यथार्थ घटनाको प्रस्तुति रहेको बताए ।

अर्का समीक्षक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ‘जदौ काठमान्डू’ मा कविले बेलायतको परिवेश र सन्दर्भ राम्रोसंग उजागर गरेको बताए । ‘यो कविता संग्रह भाव, अनुभूति र विचारका विविधतामय अभिव्यक्तिको संग्रह हो’-गौतमले भने ‘अरुले काठमाडौँसंग पहिचान माग्छन्, तर काठमाडौँले स्वयम् पहिचान मागी रहेको छ । त्यो विरोधाभास कविले देखाउनु भएको छ ।’

कवि वासुदेव अधिकारीले आफ्नो कवितासङ्ग्रह बस्तिमा आगो लकडाउनको बेला लेखिएको काव्यिक डायरी भएको उल्लेख गरे । अमेरिका निवासी साहित्यकार भारती गौतमले आफ्नो जीवनको खुसी र वियोगलाई अक्षरमार्फत व्यक्त गरेको बताइन् ।

कवि कृष्ण उपाध्यायले आफ्नो पहिलो कृति ‘प्रथम पुरुष’ पाठकले रुचाइ दिएकाले आफूले फुटकर कविताहरु समेटेर दोश्रो कृति ‘जदौ काठमान्डू’ प्रकाशन गरेको बताए । ‘वास्तवमा यो मलाई ‘प्रथम पुरुष’ कै फुटनोट जस्तो लाग्छ’- उनले भने । उपाध्यायले आफूले अहिले ‘महापुरुष’ भन्ने अर्को काव्यमा काम गरिरहेको पनि बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा नियात्राकार कृष्ण बजगाईंले सन् २०१४ मा स्थापित प्रतिष्ठानले ‘प्रवासन’ अनुसन्धानमूलक अर्धवार्षिक साहित्यिक जर्नल, समकालीन साहित्य डट कम र साहित्यिक पुस्तकहरु प्रकाशन गरिरहेको जानकारी दिए ।    

यादव भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा. सावित्री श्रेष्ठ, छविरमण सिलवाल, विश्वराज अधिकारी आदिले बोलेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू