मंगलबार, वैशाख ११, २०८१
15:53 | २०:३८

यूकेका डाक्टरहरुले दिए धुलिखेल अस्पताललाई १० अक्सिजन मेसिन

‘हेल्थ एक्सचेञ्ज नेपाल’ को सहयोग

नेपाली लिङ्क अक्टोबर २४, २०२०

लण्डन । बेलायतमा कार्यरत डाक्टरहरुद्धारा सञ्चालित एक च्यारिटी संस्थाले काभ्रेको धुलिखेल अस्पताललाई १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ । 

बेलायतस्थित नेपाली तथा बेलायती डाक्टरहरु संलग्न ‘हेल्थ एक्सचेञ्ज नेपाल’ नामक च्यारिटीले अक्सिजन मेसिन नेपाल पठाएको हो । 

करिब साढे सात लाख रुपियामा बेलायतमै खरिद गरिएका ती मेसिनहरु नेपाल पठाएर शुक्रबार अस्पताललाई हस्तान्तरण समेत गरिसकिएको छ । 

नेपालमा कोभिड संक्रमण बढ्दै गइरहेको बेला संक्रमितहरुको उपचार सहज बनोस् भनेर ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’ सहयोग गरिएको हेल्थ एक्सचेञ्ज नेपालका महासचिव प्रा डा सत्यन राजभण्डारीले बताए । च्यारिटीले नियमित रुपमा नेपालमा सञ्चालन गर्दै आएका सहयोगी कार्यक्रमहरु महामारीका कारण अवरुद्ध भएका बेला अक्सिजन मेसिन सहयोगको सोच बनाइएको उनले जनाए । 

क्लिनिकल र शैक्षिक हिसाबले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने लक्ष्यसहित सन् २००८ मा स्थापित भएको थियो हेल्थ एक्सचेञ्ज नेपाल । बेलायती तथा नेपाली डाक्टरहरु आबद्ध यो च्यारिटीमा बेलायतका एक सय बढी डाक्टरहरु सक्रिय सदस्य छन् । संस्थाको अध्यक्ष डा जेरेमी वार्ड छन् ।  

स्थापनायताको अवधिमा हेल्थ एक्सचेञ्ज नेपालले लगभग ४/५ करोड रुपिया बराबरको सहयोग नेपालमा पठाइसकेको महासचिव डा राजभण्डारीले बताए ।

महाभूकम्पपछि गोरखा जिल्लामा २ वटा विद्यालय बनाइदिएको च्यारिटीले विभिन्न जिल्लामा १० वटा हेल्थ पोस्ट र तीन सय वटा अस्थायी घर समेत निर्माण गरिदिएको थियो । 

त्यस्तै, संस्थामार्फत् अहिलेसम्म नेपालमा कार्यरत एक दर्जन बढी डाक्टरहरुलाई बेलायत ल्याएर प्रशिक्षण दिलाइएको छ भने केही अवसरमा बेलायतमा कार्यरत डाक्टरहरुलाई नेपाल पठाएर प्रशिक्षण पनि दिइएको छ । 

च्यारिटीलाई कोष जुटाउनका लागि संस्थाका सबै सक्रिय सदस्यहरुले मासिक ५ पाउण्डका दरले रकम जम्मा गर्दै आएका छन् । त्यस्तै, वार्षिक च्यारिटी डिनरको आयोजना गर्नुका साथै विभिन्न म्याराथन, पदयात्राहरुमा सहभागी बनेर समेत कोष संकलन गरिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू