बिहीबार, वैशाख १३, २०८१
09:13 | १३:५८

बेलायतमा प्रपर्टी व्यवसायमा जमेका कुबेर

नेपालदेखि इंग्ल्याण्डसम्मको यात्रामा सधैं सफलता

नेपाली लिङ्क अक्टोबर १९, २०२०


लन्डन । ३६ वर्षअघि इंग्ल्याण्ड आइपुग्दा काठमाडौं चावहिलका कुबेर होडासंग खल्तीमा थोरै पैसा थियो । काठमाडौंको नामी व्यापारी घरानामा जन्मिएका भएपनि उनी धेरै पैसा बोकेर इंग्ल्याण्ड आएका थिएनन् । उनी त आफैं केही गर्ने हुटहुटी र बेलायती डिग्रीको सपना लिएर बेलायत टेकेका थिए ।

असल व्यवहार, राम्रो संगत, मेहनत गर्ने बानीजस्ता कारण ३६ वर्षको यो अवधिमा उनले विदेशी भूमिमा बेलायती डिग्री मात्रै कमाएनन्, व्यवसायीका रुपमा पनि छुट्टै पहिचान बनाएका छन् । प्रपर्टी 
मार्केटमा सफल नेपाली उद्यमीका रुपमा जमेका उनको रेडिङका भिभिआइपीहरु बस्ने एरियामा आलिसान महल छ ।

श्रीमती हसना होडा र छोरीहरु हनी, ब्रिट्नी र एलिजावेथ होडासहित रेडिङमा बस्दैं आएका कुबेरको इंग्ल्याण्डका विभिन्न ठाउंमा गरी १२ वटा घर छन्, उनले प्रपर्टी मार्केटमा मात्रै झण्डै ३ मिलियन पाउण्ड लगानी गरेका छन् । नेपालदेखि इंग्ल्याण्डसम्मको यात्रा क्रममा सधैं सफलतामात्रै चाखेका छन्, उनले ।

त्यो सफलताको कारक अप्ठ्यारो बाटोमा हिंड्न रुचाउने उनको स्वभाव पनि हो । उनलाई जे असजिलो छ, त्यहीप्रति प्रेम हुन्छ । ‘पहिलो पटक बालकलाई उभिन कति गाह्रो हुन्छ । कठिन बाटोमा पाइला चाल्नुपनि त्यस्तै हो,’ उनी कारण खोल्छन्, ‘तर, जब बालक उभिन्छ, सबैमा विशेष खुशीको माहोल बन्छ ।’ कठिनताबाट प्राप्त सफलता पनि बढी आनन्ददायक र स्थायी हुने उनी बताउंछन् ।

संघर्ष गर्न रुचाउने कुबेर चाबहिल काठमाडौंमा जन्मिएका हुन् । उनी जन्मदा घरको माथिल्लो तलमा लक्ष्मीपूजा चलिरहेको थियो । लक्ष्मीपूजाको साइतमै जन्मेकाले उनका हजुरबुवा भक्तलाल होडाले उनको नाम कुबेर राखिदिए ।

व्यापारिक परिवारमा जन्मिएका उनका बुवा जिजुभाई होडा पनि विजनेशमै सक्रिय थिए । आमा मिश्री देवी होडा भने गृहणी । उनको बाल्यकाल एकदमै राम्रो वातावरणमा बित्यो । उनका हजुरबुवा भक्तलाल सफल व्यवसायी थिए, त्यसैले उनको नाम काठमाडौंका कहलिएका व्यापारीमा पथ्र्यो । न्युरोडलगायतका ९–१० ठाउंमा पसल थिए, सबै प्रकारका विजनेशमा उनको परिवारको लगानी थियो । हजुरबुवाका मित्र विष्णुमणि आचार्य राजा महेन्द्रका दाहिने हात थिए, त्यही कारण उनका हजुरबुवाको सम्बन्ध पनि दरबारसम्मै थियो । रमाइलो मेलामा राजाले बक्सिस दिएको जग्गामा उनको परिवारले बाघ शिकार भन्ने भवन नै बनाएको छ ।
त्यहां राजा महेन्द्र मात्रै होइन्, वीरेन्द्र र दीपेन्द्र पनि आएको उनी सम्झिन्छन् ।

विष्णुमणिका छोरा राजदरबारका सचिव थिए, उनको मित्रता कुबेरका बुवासंग थियो । त्यो मित्रता पनि उनको परिवारलाई दरबारसंग जोड्ने सेतु थियो ।

शहरको व्यापारिक परिवारमा हुर्किएका कुबेरको शिक्षादीक्षा पशुपति माध्यमिक विद्यालयबाट अगाडि बढेको हो । उनले त्यहींबाट एसएलसी उत्तीर्ण गरे । सानैदेखि कुबेरको पाइलट बन्ने रुचि थियो । त्यही कारण उनी एसएलसी पास गर्नेबितिकै आइएस्सी पढ्न अमृत साइन्स क्याम्पस गए ।

पछि उनको बुवाले भने, ‘छोरा तिमी पाइलट नपढ् । पाइलट पढ्नेलाई कसैले छोरी नै दिदैनन् ।’ त्यतिबेलाको वातावरण पनि त्यस्तै थियो । त्यही कारण उनको माइण्डबाट विस्तारै पाइलट बन्ने हुटहुटी परिवर्तन भयो । उनका बुवाले विजनेशम्यान भएपछि पाइलटलाई हायर गरेर राख्न सकिन्छ भनेर कन्भिन्स गरे । हुन पनि हो, विजनेशम्यान भएपछि सबै किसिमिको जनशक्ति हायर गरेर राख्न सकिन्छ । त्यही कारण उनले आफ्नो सपना बदलिएको बताए ।

परिणाम नै मान्नुपर्छ, ३६ वर्षअघि उनी लन्डनमा विजनेशन एण्ड फाइनान्स पढ्नका लागि आए । रेडिङमा उनले कलेज पढे, त्यसपछि युनिभर्सिटी गएर डिग्री लिए । विद्यार्थीका रुपमा बेलायत पुगेका उनका सुरुवाती दिनहरु निकै संघर्षमय थिए । बेलायतको व्यस्त जीवनमा उनी रुटिङमा काम गर्न थाले । सुरुमा एक रेष्टुरेन्टको जनरल म्यानेजरका रुपमा काम गरे । त्यो रेष्टुरेन्टको विजनेशन उनले हेर्दाहेर्दै चम्काइदिए । तर, विस्तारै उनलाई लाग्न थाल्यो, ‘जब मेरो करिअर होइन् ।’ त्यही बीच उनले आफूले कमाएको थोरथोरै पैसा प्रपर्टी, रेष्टुरेन्ट र स्टक एक्सचेन्जमा पनि लगानी गरे ।

सन् १९९६ मेमोरीज अफ नेपाल रेष्टुरेन्ट खोले । च्यारिटी पनि गरे, च्यारिटीमा पनि एकदमै रुचि छ उनलाई । रेष्टुरेन्ट रेडिङमा खुबै चल्यो, निकै फाइदा पनि दियो । सन् २००४ मा उनले रेडिङको लन्डन स्ट्रीटमा खुकुरीज नेप्लीज नामक दोस्रो रेष्टुरेन्ट खोले । त्यही वर्ष उनले चारवटा अवार्ड पनि हात पारे । नेपालबाट सेफ ल्याएर काम दिए, उनीहरुको परिवारलाई पनि नेपालबाट झिकाएर सेटल गराइदिए । ‘मलाई नेपाली भेट्दा निकै खुशी लाग्छ । त्यो बेला कयौं नेपाली मेरो नाम लिएर आउंथे,’ उनी सम्झन्छन्, ‘तिनलाई आफ्नो घरमा लिएर राख्थें ।’ काम खोजिदिएर व्यवस्थापन गरेपछि मात्रै ती नेपाली उनको घरबाट जान्थे ।

परिवारका साथमा कुबेर

ड्रिम प्रपर्टी
टिनएजदेखि नै कुबेरको विशेष आकर्षण प्रपर्टीप्रति थियो । प्रपर्टीमा केही गर्न सकिन्छ भन्ने उनले टिनएजमै सोचिसकेका थिए । बेलायत पुगेपछि उनी आफू कमाएको थोरै–थोरै पैसा जम्मा गर्न थाले ।

सुरुमा १९८० को दशकतिर उनले स्टक एक्सचेन्जमा पनि पैसा लगानी गरेका थिए, तर उनले त्यसमा घाटा खाए । ‘ओहो । यसमा त मेरो नहुने रहेछ भन्ने सोचें’ उनले सुनाए । केही पैसा उनले रेष्टुरेन्टमा पनि लगाए । त्यसले फाइदा नै दिएपनि उनले धेरै समय दिन सकेनन्, न त उनको विशेष रुचिको क्षेत्र नै रेष्टुरेन्ट बन्न पुग्यो ।

तर, उनले टिनएजमै आएको प्रपर्टी मार्केटमा लगानी गर्ने आइडिया छोडेनन् । त्यसैलाई पछ्याउंदै लगानी बढाउंदै गए । ‘संसारको जुनसुकै कुनामा तपाईंले घर किन्नुभयो भने पनि त्यसको प्राइस बढी नै रहेको हुन्छ’- उनी पर्पोटी मार्केटबारे भन्छन्, ‘३० वर्षअघि ६२ हजारमा किनेको घर अहिले चार लाख पुगेको छ ।’ उनले पहिलो पटक विद्यार्थी छंदै उक्त घर किनेका हुन् ।

प्रपर्टीमा कुबेर घर आफ्नै नाममा घर किन्ने ‘सोल्ड ट्रेडर’ हुन् । किनेका घरलाई रि-फर्निसिङ गरेर रेन्टमा दिन्छन् । ६० हजार लगानीमा प्रपर्टीमा पसेका उनको अहिले झण्डै ३ मिलियन पाउण्ड बराबरको सम्पत्ति छ । उनी नयां–नयां घर किन्छन्, त्यसलाई सजावट गरेर रेन्टमा राख्छन् । अहिले लन्डनमा उनका १२ वटा घर छन् । केही समयअघि उनले स्पेनमा पनि घर किनेका थिए । तर, आफू नबस्ने भएपछि वेस्ट हुने सम्भावना देखेपछि उनले थोरै फाइदा खाएर त्यसलाई बेचिदिए ।

इंग्ल्याण्डमा भने उनले अहिलेसम्म किनेका कुनै पनि घर बेचेका छैनन् । फाइदा भएपनि झन्झटिलो हुने भएकाले रेष्टुरेन्ट विजनेशनबाट भने उनले हात झिकिसकेका छन् । उनी पूर्ण रुपमा प्रपर्टी विजनेशमै छन् ।

कुबेर आफैंले मात्रै पर्पोटीमा लगानी गरेनन्, साथीहरुलाई पनि त्यहीअनुसार सल्लाह दिन र लगानीका लागि प्रोत्साहन गर्न थाले । उनले त्यसरी सल्लाह दिएर र पर्पोटीमा लगानी गर्न प्रोत्साहन गरेकामध्ये कमल गुरुङ पनि एक हुन् । जसले अहिले प्रपर्टी मार्केटमा राम्रै नाम र दाम कमाएका छन् । ‘नेपाली विजनेशमा आउंदा खुशी लाग्छ,’ उनी भन्छन्, ‘मैले एक क्षेत्रमा राम्रो गरें । म सबै नेपालीलाई केही न केही उद्यममा तान्ने योजनामा छु । होस्टेमा हैंसे गरेर नेपाली कम्युनिटी सबै धनी बनोस् भन्ने मेरो चाहना छ ।’

विदेशी भूमिमा सफलताको मिठो स्वाद चाखिरहेका कुबेरको सक्सेस सेक्रेट के हो त ? कसरी सफल भए उनी ? त्यसका लागि पांचवटा कुरा छन्, जसलाई कुबेर आफ्नो सफलताका कारक मान्छन् । जो उनका पिताबाट उनले सिकेका हुन् । जांड रक्सी, चुरोट, जुवातासजस्ता कुलतमा नलाग्नु, नराम्रो साथी नबनाउनु र सधैं भगवानप्रति समर्पित हुनु, जे छ त्यसमा सन्तुष्ट हुनु र असजिलो कामदेखि नडराउनु । ‘बाल्यकालमै मैले बुवाबाट यस्ता ज्ञानगुनका कुरा सुन्न पाएं, त्यस्तै माहोलमा हुर्किएं,’ उनी सक्सेस सेक्रेटबारे भन्छन्, ‘त्यही कारण अहिलेसम्म एक चुरोट र एक गिलास बियर पनि मेरो मुखमा परेको छैन् ।’ उनी नराम्रो बानी र संगतबाट सधैं टाढै बस्छन् । बच्चादेखि नै अनुशासनमा एकदमै दृढ उनी । जसले उनलाई क्लीन बाटोको यात्राका लागि सधैं प्रेरित गरिरहयो ।

असन्तुष्टिलाई कहिल्यै जीवनमा स्थान नदिएका कुबेरको भगवानप्रति पनि अगाध विश्वास छ । उनी बिहान र बेलुका र बिहान दुई पटक पाठपूजा गर्छन् । उनले आफ्नो छोरीहरुलाई पनि त्यही सिकाएका छन् । १२ वर्षकै उमेरमा पोखरा, बाग्लुङ हुंदै १४ दिन हिंडेर बुवासंग मुक्तिनाथ दर्शन गर्न गएको सम्झना अहिलेसम्म पनि उनको दिमागमा ताजै छ । ‘साना छंदादेखि नै भगवानप्रति एकदमै भक्ति छ,’ उनी भन्छन् । कुबेर नराम्रो चीजमा मानिसको बढी ध्यान जाने र इच्छा हुने भएकोले त्यस्तो कुराबाट टाढा रहन सुझाव दिन्छन् ।

यसबाहेक सफलताका लागि कर्मसंगै भाग्य पनि आवश्यक हुने उनी बताउंछन् । ‘शाहरुख खानले पनि त्यो ठाउंमा पुग्न संघर्ष गरे । तर, उनको भाग्य पनि थियो,’ उनी भन्छन्, ‘नत्र बडिउडमा उनीजस्तै संघर्ष अरु धेरैले पनि गरे होलान । तर, सबैले शाहरुखकोजस्तो मुकाम हासिल गर्न सकेनन् ।’

विदेशी भूमिमा जमिरहेका कुबेरको भावी सपना के छ त ? भन्छन्, ‘आमा बुवाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामाथि । अहिले नेपालमा धेरै वृद्ध आमाबुवा बेसहारा देख्दा मेरो मन कटक्क खान्छ ।’ त्यही भएकाले भविष्यमा उनले यस्तै आमाबुवाहरुका लागि सुविधासम्पन्न वृद्धाश्रम बनाइदिने सोचेका छन् । जसमा आफ्नै सन्तानले हेला गरेर निकालिएका बुवाआमा आरामपूवर्क बस्न सकून् । ‘भगवानको कृपा भयो भने वृद्धाश्रम बनाउने योजना छ,’ उनले भविष्यको सपना सुनाए, ‘त्यसमा घरबाट निकालिएका सबै वृद्धआमाबुवा बस्न सकून् ।’ बेलायतमा सबै यस्तालाई सरकारले हेर्छ तर नेपालमा त्यो व्यवस्था नभएकाले त्यो काम गर्ने रुचि छ ।

क्रियाशील जीवनशैली
व्यस्त बेलायती जीवनमा कुबेरको दैनिकी पनि निकै व्यस्त छ । उनी कति व्यवस्थित छन् भने एक दिन अगाडि नै भोलि के गर्ने भनेर योजना बनाइसक्छन् । धेरैजसो बिल्डर, इलेक्ट्रीसियनसंग समन्वयजस्ता घरकै काममा व्यस्त रहन्छन् ।

विहानै ६ बजे उठ्छन् । उठिसकेपछि उनको मुखबाट निस्कन्छ, ‘गुड मर्निङ काठमाडौं, गुड मर्निङ नेपाल ।’ उनलाई रामदेवको प्रिन्सिपल खुबै मन पर्छन् । उठिसकेपछि आधा घण्टा उनी अनुलोम विलोम, कपालभांती गर्छन् ।

कागती पानी पिएर श्रीमतिसंगै डेढ घण्टा दौडन्छन् । उनी बस्ने आवासीय भिआइपी इलाका नजिकै जंगल छ । त्यही जंगलमा दौडन्छन् । कोभिड अघि कुबेर जिममा जान्थे तर अहिले त्यो रुटिङ बदलिएको छ ।

दौडेर फर्किएपछि करेला, टमाटर र काक्रोको एक गिलास जुस पिउंछन् । त्यसपछि खाना खान्छन् । त्यसपछि नियमित काम र बैठकहरुमा व्यस्त हुन्छन् । उनको मनपर्ने खाना दाल, भात र तरकारी हो । उनी बिफ खांदैनन् । उनका दुई छोरी भेजिटेरियन हुन् । कुबेर आफैं पनि निकै हेल्थ कन्सस् छन् ।

उनी फुर्सदको समयमा घरको साजसज्जा गर्न रुचाउंछन् । घरको डेकुरेसन गर्ने रुचि मेरो सानैदेखिको हो । अहिले पनि धेरैजसो पैसा र समय त्यसैमा जान्छ । कहिलेकाहीं परिवारसंगै कन्ट्रीसाइड ड्राइभिङ पनि उनी हिंडिरहेका हुन्छन् । उनकी तीन छोरीमध्ये हनी होडा निकै क्रियाशील छन्, उनले बेलायतका मुख्य भिभिआईपीहरुसंग पनि भेटिसकेकी छन् । उनी फुजित्सु ग्लोवल कम्पनीमा जागिर गर्न थालिसकेकी छिन् ।

अन्य दुई जना छोरीमध्ये इलिजाबेथ होडा बर्मिंगहम युनिभर्सिटीमा राजनीतिकशास्त्र पढ्दैछिन् भने अर्की ब्रिट्नी होडा वारवीक युनिभर्सिटीमा कानुन पढ्दैछिन् । ‘छोरीहरु सबै भगवानजस्तै छन्, सबै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट छन्,’ सन्तान सही बाटोमा लागेकामा गर्व गर्दै उनले सुनाए ‘प्राइभेटमा राखेर राम्रो शिक्षादीक्षा दिए । हेल्थ कन्सस् छन्, भेजिटेरियन हुन् । सबै कुरामा उनीहरु उत्कृष्ट छन् ।’ त्यसबाहेक कहिलेकाही उनको परिवार घरमै रहेको सिनेमा घरमा पुराना घरायसी भिडियोहरु हेरेर रमाइलो गर्छन् ।

पहिरनमा उनी फर्मल लुगाहरु रुचाउंछन् । सानैदेखि स्मार्ट भएर निस्कने उनको बानी अहिले पनि उस्तै छ । वातावरण र परिस्थिति हेरेर ड्रेसको चयन गर्ने उनको बानी छ । ग्याजेटमा उनको उति रुचि छैन् । फ्यामिली र छोरीहरुलाई समय दिन रुचाउंछन् । सबै काम सकेर उनी ९ देखि १० बजेभित्र सुतिसक्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू