बिहीबार, चैत १५, २०८०
15:12 | २०:५७

ट्राफिक प्रहरी महाशाखाको काम अब अनलाइनबाट

रासस अक्टोबर ५, २०२०

काठमाडौँ । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।

अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ ।

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो । यसका लागि महाशाखाको वेवसाइटमा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ ।

त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सन देख्नुहुने छ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ । नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य शुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनलाईन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाको आधारमा सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् ।

यही असोज ५ गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग शुरु भएको छ । महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ ।

महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै सर्भिलेन्स भेईकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही जारी छ । भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७६४ सवारी साधनलाई कारवाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारवाही गरेको महाशाखाले जनाएको छ ।

कतिपय अबस्थामा ट्राफिक प्रहरी देख्दा नियम मान्ने, नदेख्दा उलङ्घन गर्ने प्रवृत्ति थियो । त्यसको नियन्त्रणका उपाए थिएन । महाशाखामा जनशक्तिसमेत थोरै भएकाले समस्या परेपछि विगतदेखि नै सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारवाही थालिएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ ।

लामो दुरीका यात्रुवाहक यातायत चलाउने चालक परिवर्तन भए-नभएको, दुई चालक भए नभएको बारे आवश्यक जाँच गरी ४५६ सवारी साधनलाई कारवाहीको दायरामा ल्याईएको महाशाखाले जनाएको छ ।

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ ।

काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तिब्र पारिएको छ । महाशाखाले विद्युतीय भुक्तानी प्रणालीका साथै विभिन्न सचेतनामुलक श्रव्यदृष्य सामग्रीहरु बनाउने प्रक्रिया अघि बढाएको छ ।

महाशाखाले निकट भविश्यमा ईन्टेलिजेन्स ट्राफिक नियन्त्रण कक्ष, भेइकल स्क्यानर, स्वचालित गति मापक यन्त्र, डिडिटल ड्राइभिङ परीक्षण केन्द्र, भेइकल ट्राकिङ प्रणाली, प्रविधिमैत्री तथ्याङ्क व्यवस्थापन केन्द्र, विद्युतीय टोकन प्रणाली, विद्युतीय उद्धार सामग्री र प्रविधियुक्त मिटर रिडिङ् प्रणालीको प्रयोग गर्ने योजना अघि बढाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू