बुधबार, वैशाख १२, २०८१
21:20 | ०२:०५

अल्डरसटको शिव मन्दिर दशैं अगाडि

आकृति नेपालकै प्यागोडा शैलीमा बनाउन अनुमति माग

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२०

लन्डन । नेपाली उल्लेख्य बसोवास गर्ने बेलायतको अल्डरसटस्थित क्वीन्स् रोडमा शिव मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष एक मुष्ट तीन लाख पाउण्ड नगद तिरेर खरिद गरिएको चर्च भवनलाई अहिले शिव मन्दिरको रुप दिने काम भइरहेको छ । योजना अनुरुप अगाडि बढे दशैंमा नव दुर्गा स्थापना त्यही मन्दिरमा गरिने शिव कल्चरल सेन्टरका महासचिव विक्रम भट्टराईले नेपाली लिंकलाई जानकारी दिए । तर, दशैं कार्यक्रम सरकारी ‘गाइडलाइन्स’ मा रहेर गरिनेछ ।

मन्दिरको बाह्य आवरण नेपालकै प्यागोडा शैलीमा बनाउन स्थानीय रसमोर बरो काउन्सिलसंग अनुमति माग गरिएको भट्टराईले बताए । भवन खरिदबाहेक एक लाख ६० हजार पाउण्ड ‘रिफर्बिस’ खर्च लाग्नेमध्ये करिब १२ हजार पाउण्ड नपुग भएको शिव कल्चरल सेन्टरले जनाएको छ ।

‘पहिला हामीले ८८ हजार, ५ सय पाउण्डमा ठेक्का दिएर काम अगाडि बढाएका थियौं । शुरुमा निर्माण खर्चमा भ्याट नलाग्ने सोचेका थियौं’, सेन्टरका महासचिव भट्टराईले भने, ‘झण्डै डेढ महिनाको प्रतिक्षापछि एचएमआरसीले भ्याट लाग्छ भनेपछि थप खर्च आवश्यक परयो । हामीले निर्माण कार्य पैसा अपुग भएर रोकिन सक्ने सम्भावनालाई ध्यानमा राखेर मन्दिरका ट्रस्टी र कार्यसमिति सदस्यहरुसंग बढीमा एक हजार पाउण्ड दुई वर्षका लागि बिना ब्याज ऋण अनुरोध गरेर १९ हज़ार पाउण्ड जम्मा गरेर काम अगाडि बढाएका छौं ।’

प्रस्तावित मन्दिर संरचना

सेन्टरले अपुग पैसा संकलनमा बेलायतवासी नेपालीको पुन सहयोग अपेक्षा गरेको छ ।

लकडाउनमा पनि मन्दिर निर्माण रोकिएन । मन्दिरभित्र सामाजिक तथा धार्मिक इभेन्ट्स गर्न करिब अढाइ सय जना अट्ने हल बनाइएको छ भने ४-४ वटा महिला पुरुषका लागि शौचालय छन् । आपांगमैत्री शौचालय पनि बनाइएको छ । करिब ४० हजार पाउण्ड खर्च गरेर छानो पनि नयाँ राखिएको छ । मण्डपसहितको मन्दिर क्षेत्र  छुटयाइएको छ, जसले गर्दा मानिसको भीड हुँदा पनि सुरक्षित रहने मन्दिर व्यवस्थापनले जनाएको छ ।

मन्दिरमा राख्न लन्डनका एक सफल व्यवसायी एवं समाजसेवी रबि लामिछानेले १५ हजार ७३० पाउण्डसहित चर्तुमुखी शिव लिंग (पशुपतिनाकै एउटा रुप) दान गरेका छन् भने सदस्य नारायण केसीले नेपालबाट कलात्मक ढोका ल्याइदिएका छन् । यसका अतिरिक्त केसीले तीन हजार पाउण्ड समेत बेग्लै चन्दा दिएका थिए । मन्दिर निर्माणका लागि नेपाली, भारतीय र अन्य नागरिक गरि करिब ६ सय जना जोडिएका छन् ।

मन्दिरलाई साकार रुप दिन शिव कल्चरल सेन्टरका वर्तमान अध्यक्ष भिम बानिया, प्रमुख संरक्षक रोहित गुरुङ, महासचिव विक्रम भट्टराई लगायतको अथक परिश्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू