बिहीबार, वैशाख १३, २०८१
16:50 | २१:३५

बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

२४ घन्टामा थप ४ हजार ९ सय २६ जनामा संक्रमण

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर बढ्ने क्रम निरन्तर छ । पछिल्लो २४ घन्टामा यहां थप ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

संक्रमित संख्या पछिल्ला दिनहरुको तुलनामा सबैभन्दा बढी हो । त्यसैगरी गएको २४ घन्टामा ३७  जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ४ लाख ३ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणको दर बढ्न थालेपछि बेलायत सरकारले थप कडाई गर्ने घोषणा गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि नयां नियमहरु लगाउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दिउसो संसदसमक्ष अवगत गराइसकेका छन् ।
प्रधानमन्त्री जोन्सनले संसदमा मास्क नलगाउने र ‘रुल अफ सिक्स’ को नियम उल्लंघन गरेवापतको जरिवाना दोब्बर गरेर दुई सय पाउण्ड पुरयाउने जनाएका छन् । यसअघि यो जरिवाना रकम पहिलोपटक एक सय पाउण्ड निर्धारण गरिएको थियो ।

यस्तै पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सम्बन्धि व्यवसायहरु आउँदो बिहीबारदेखि राति १० बजे भन्दा पछि खोल्न नपाइने प्रधानमन्त्रीको घोषणामा छ । तर, टेकअवे व्यवसाय भने १० बजे पछि पनि सञ्चालन गर्न अनुमति हुनेछ । यो नियम ६ महिनासम्म लागू हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्रीले आज मंगलबार सांझ देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारले गत हप्तादेखि ६ जना भन्दा बढीको सामाजिक भेटघाट प्रतिवन्ध लगाएको छ भने कोरोना संक्रमित पोजिटिभ भएकाहरुले सेल्फ आइसोलेशनको नियम पालना नगेर एक देखि १० हजार पाउण्ड सम्म जरिवाना तिर्नुपर्ने नियम यही सेप्टेम्बर २८ बाट लागू हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू