शनिबार, वैशाख ८, २०८१
15:20 | २०:०५

फोटो पत्रकार मिलन तमुले शुरु गरे गोर्खा मिडिया डट कम

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२०


लन्डन । लामो समय देखि युकेमा फोटो पत्रकारिता गर्दै आएका मिलन तमुले आफ्नै न्यूजपोर्टल गोर्खा मिडिया डट कम सञ्चालनमा ल्याएका छन् । भर्जुअल कार्यक्रममार्फत प्रमुख अतिथि नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गोर्खा मिडिया डट कमको शुभारम्भ गरेका हुन् ।

प्रमुख अतिथि मन्त्रीले गोर्खा मिडिया डट कम सबैको ढुकढुकी बन्न शुभकामना दिए । बीर गोर्खालीको शानको नामसहित शुभारम्भ भएको मिडियाले स्वभावैले गोर्खा समुदायको पहिचानलाई उजागर गर्नुका साथै सबैको भावना सम्बोधन गर्ने शुभेच्छा पनि मन्त्री गुरुङको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले नेपाली पहिचान स्थापित गर्न र सत्यतथ्य, सन्तुलित एवं समावेशी समाचार प्रस्तुत गर्ने अपेक्षा गरिन् ।

नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगी मगरले मिडियाको संख्या बृद्धि भए समुदाय, पाठकलाई फाइदा हुने दाबी गर्दै अक्षर भन्दा फोटो र भिडियोमा खेल्दै आएका मिलन तमुले गोर्खा मिडियामार्फत आफ्नो थप क्षमता प्रस्तुत गर्ने आशा व्यक्त गरे ।

तमु प्ये ल्हु संघ युके अध्यक्ष मेजर खुशीमान गुरुङले गोर्खा मिडियाले छिट्टै सफलता हासिल गर्ने बताए । फोनिज अध्यक्ष डण्ड गुरुङले छुट्टै पहिचान सहितको गोर्खा मिडिया बनोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मगर संघ युके उपाध्यक्ष राम गलामी लगायतले पनि शुभकामना दिएका थिए । न्यूज पोर्टलका सम्पादक हुमबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रवन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै साथ सहयोगका लागि आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू