शनिबार, वैशाख ८, २०८१
08:35 | १३:२०

विदेशमा कोरोनाले ज्यान गुमाउने नेपाली २ सय ४३

एक सातामै थप ४३ को मृत्यु

रासस सेप्टेम्बर १३, २०२०

 

काठमाडौं ।  विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए   

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको संख्या  ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । 

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमण दर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।  

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।  

कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ , नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।  

साउदीमा ६० शव अलपत्र  

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा छन् । पछिल्लो समय  विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीको शव नेपाल ल्याइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू