शुक्रबार, चैत १६, २०८०
09:32 | १५:१७

बेलायतमा कोरोना : पछिल्लो एक दिनको मृत्यु संख्या मार्चयताकै न्यून

नेपाली लिङ्क मे २४, २०२०

आइतबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय १८ मानिसको मृत्यु भएको छ । एक दिनको अवधिमा कोरोनाबाट मृत्यु भएको यो संख्या गत मार्चयताकै सबैभन्दा न्यून हो ।

विकेण्डमा मृत्युहरुको ‘रिपोर्टिङ’ सुस्त हुने कारण अन्य दिनको तुलनामा मृतक संख्या न्यून देखिने गरेको छ । तर पछिल्लो तथ्यांकले दुई महिना यताकै सबैभन्दा थोरै मृत्यु संख्या देखाएको छ ।

यससंगै अहिलेसम्म कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको जम्मा संख्या ३६ हजार ७ सय ९३ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा १ लाख १० हजार ४ सय १ परीक्षण गराइएको छ । जसमध्ये २ हजार ४ सय ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

हालसम्म देशभरमा कुल ३४ लाख ५८ हजार ९ सय ५ परीक्षण गराइएकोमा संक्रमित भेटिनेको संख्या २ लाख ५९ हजार ५ सय ५९ पुगेको छ ।

यसैबीच, आइतबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले देश लकडाउन खुकुलो पार्ने दोस्रो चरणतर्फ उन्मुख रहेको बताएका छन् ।

आउँदो जुन १ देखि प्राइमरी स्कुल र केहि रिटेल व्यवसायहरु सञ्चालन गर्ने सरकारको योजना कायम रहेको उनले स्पष्ट पारेका छन् ।

बेलायतमा संक्रमण रोकथामका लागि अहिलेसम्म भएका प्रयासहरुबाट सकारात्मक प्रगति भएपनि सतर्कता र सावधानी अझै जरुरी रहेको धारणा प्रधानमन्त्री जोन्सनले व्यक्त गरे ।

जोखिम अझै पनि बाँकी रहेको भन्दै प्रधानमन्त्रीले लकडाउन खोल्ने सवालमा सरकारले होशियारीपूर्वक पाइला चाल्दै जाने बताए ।

लकडाउनकै बेला २ सय ६० माइलको यात्रा गरेर विवादमा मुछिएका आफ्ना प्रमुख सल्लाहकार डोमिनिक कमिङ्गको भने उनले बचाउ गरे । विपक्षी दलहरुसहित चौतर्फी रुपमा राजीनामा माग भइरहेका बेला प्रधानमन्त्रीले भने कमिङ्गको यात्रा अत्यावश्यक र जायज रहेको दाबी गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू