शुक्रबार, चैत १६, २०८०
04:36 | १०:२१

लकडाउन तोडेको आरोपमा बेलायती प्रमका प्रमुख सल्लाहकारमाथि राजिनामाको दबाब

नेपाली लिङ्क मे २३, २०२०

लण्डन । बेलायतमा कोरोना संक्रमण फैलिन नदिने प्रयासमा सरकारले लागू गरेको लकडाउनको पालना नगरेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिक कमिङ्गको आलोचना भएको छ ।

लकडाउनकै बेलामा उनले सामाजिक दूरीको नियम तोडेर आफ्ना बाबुआमा बस्दै आएको डरह्याम शहरसम्म पुगेको आरोप लागेको छ ।

सल्लाहकार कमिङ्ग कोरोनाको लक्षणहरु देखिएकी उनकी पत्नीसंगै लण्डनबाट २ सय ६० माइलको यात्रा गरी डरह्याम पुगेका थिए ।

प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट लकडाउनको उल्लंघन भएको भन्दै चौतर्फी रुपमा उनको राजिनामा माग गरिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सल्लाहकार कमिङ्गको यात्रालाई अत्यावश्यक भन्दै बचाउको कोशिस गरेको छ ।

१० डाउनिङ स्ट्रिटको वक्तव्यमा भनिएको छ, ‘पत्नीलाई संक्रमण भइसकेको आशंका रहेको र आफैलाई पनि संक्रमणको जोखिम रहेका बेला आफ्नो बच्चाको लागि राम्रो हेरचाहको सुनिश्चितता गर्नकै लागि पनि उनलाई त्यहाँ जानु अत्यावश्यक थियो ।’

संवाददाताहरुसंग प्रतिक्रिया दिंदै सल्लाहकार कमिङ्गले पनि आफ्नो यात्राबाट लकडाउनको नियम उल्लंघन भएको आरोप अस्वीकार गरेका छन् । आफूले कानूनी र तर्कसंगत रुपमै यात्रा गरेको उनको दाबी छ ।

विपक्षी लेबर पार्टीले भने उनको यात्राको बचाउमा प्रधानमन्त्री कार्यालयबाट आएको स्पष्टिकण चित्तबुझ्दो नरहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू