शुक्रबार, ४ जुलाइ, २०२५
20:53 | ०१:३८

एनआरएनए स्कटल्यान्ड अध्यक्षमा शेर केसीको उम्मेदवारी

नेपाली लिङ्क जुलाइ ४, २०२५


स्कटल्यान्ड- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्यान्ड राज्य समन्वय परिषदको अध्यक्षमा स्थानीय युवा समाजसेवी शेर केसी उम्मेदवार बन्ने भएका छन् ।

एनआरएनए स्कटल्यान्डमा सल्लाहकार तथा खेलकुद संयोजकजस्ता जिम्मेवारी सम्हालिसकेका केसीले परिषदको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

समाजसेवामा समर्पित, मिलनसार र सहयोगी स्वभावका केसी लामो समयदेखि स्कटल्याण्डको नेपाली समुदायमा सक्रिय रहँदै आएका छन्। आफूलाई अगाडि ल्याउन नचाहने, तर पछाडिबाट दृढ र निस्वार्थ रुपमा काम गर्न चाहने व्यक्तित्वको रूपमा उनी चिनिन्छन्।

‘नेतृत्व भनेको पद र प्रचार होइन, सेवा र समर्पण हो। मैले कहिल्यै चमकदमक खोजिन, सधैं कामले चिनिन चाहें’, उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, ‘अबको आवश्यकता समावेशी र सहकार्यमा आधारित नेतृत्व हो, जुन म र मेरो टिमले दिन सक्छौं।’

केसीले स्कटल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई समर्थन र सहयोगको लागि अनुरोध गरेका छन्।

‘म सधैं पछाडिबाट काम गर्ने मान्छे हुँ, तर आज म तपाईंहरूसमक्ष खुलेर अनुरोध गर्न चाहन्छु — कृपया मलाई तपाईंहरूको साथ, विश्वास र समर्थन दिनुहोस्। हामी मिलेर एनआरएनए स्कटल्याण्डलाई अझ बलियो, समावेशी र सक्रिय संस्था बनाउनेछौं’- उनले भनेका छन्।

केसी सामाजिक कार्यका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन् । उनको सक्रियता र सहभागितामा विगतमा विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय अभियानहरूमा उल्लेखनीय योगदान गरिएको छ।

एनआरएनए स्कटल्यान्डको आगामी नेतृत्वका लागि केसीको उम्मेदवारी घोषणाले स्थानीय समुदायमा नयाँ आशा र सकारात्मक ऊर्जा ल्याएको छ।

समर्थकहरूले उनको शान्त, समर्पित र सामूहिक सोच भएको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू