शुक्रबार, वैशाख १४, २०८१
00:04 | ०४:४९

कति सुरक्षित छन् बेलायतका पार्कहरु ?

महामारीका बेला थप सतर्कता जरुरी

नेपाली लिङ्क मे २२, २०२०

लन्डन । स्वस्थ जीवन र शारीरिक व्यायाम मानव जीवनका लागि अत्यन्त आवश्यक छ । स्वच्छ हावा र शारीरिक स्फूर्तिका लागि हरियाली पार्कहरुमा गएर रमाउने र समय बिताउने चाहना सबैको हुन्छ । कतिपय तन्नेरीलाई त डेटका लागि पहिलो रोजाइ छ पार्क । त्यसकारण ति पार्कहरु सफा, सुन्दरमात्र भएर पुग्दैन, त्यहांको सुरक्षा प्रवन्धले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यस्ता पार्कहरुमा खुलेआम हिंड्न संक्रमित प्राय मुलुकमा कडाइका शर्त लागू गरिएका छन् । त्यस्तै बेलायतमा पनि लकडाउनका बेला दैनिक एकपटक मात्र पार्कमा घुम्न पाउने नियम लागू गरिएको थियो ।

तर लकडाउनको पछिल्लो निर्णयले हाल पार्कमा गएर घुमफिर गर्न पूर्ण रुपमा खुल्ला गरिएको छ । यद्यपि अझै पनि पार्कमा जांदा सामाजिक दुरी भने कायम राख्न बेलायत सरकारले अनुरोध गरेको छ । तर, बुधबार यस पंक्तिकार भर्जिनिया वाटर पुग्दा कार पार्क फूल थियो । सामाजिक दुरी कसैले पालना नगरेको प्रष्ट देखिन्थ्यो ।

लकडाउन केहि लचिलो बनाउंदै आफन्त तथा इष्टमित्रहरुसंग भेटघाट तथा पिकनिक गर्ने एकमात्र थलो नै पार्क भएको सरकारद्वारा जारी घोषणामा उल्लेख छ ।

तर पार्कमा समेत धेरैजनासंग ‘ग्रुप’ मा भेट्न भने अझै पनि निषेध छ । सामाजिक दुरी कायम गर्दै दुई परिवारबीचमात्र भेटघाट गर्न पाइने नियम लागू गरिएको छ ।

महिनौंसम्मको लकडाउन पीडा भोग्नेहरुका लागि यतिबेला पार्क एउटै आकर्षक गन्तव्य बनेको छ, जहां गएर बेलायतीहरू खुल्ला आकाशमुनी रमाउने गरेका छन् । तर बेलायतमा रहेका पार्कमा निर्धक्कसंग घुमफिर गर्न सकिन्छ त ? भन्ने विषय गहन छ । बेलायतका केहि पार्कमा भएका हत्या हिंसा लगायत घट्नाले गर्दा कतिपय मानिसहरुमा निस्फिक्री घुम्न त्रास उत्पन्न हुनु स्वभाविक हो ।

हत्या हिंसा लगायत अपराध र सुरक्षाको दृष्टिले मात्र होइन, अहिले कोरोना संक्रमणका कारण स्वास्थ्यको दृष्टिकोणले पनि पार्कमा हुने जमघट खतरामुक्त छैन् । गएको हप्तामात्र प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै दिउंसो घरबाट निस्किएकी ६६ वर्षीया धनमाया थापाको शव अर्को दिन पार्कको झाडीमा भेटियो । जुन घट्नाले स्थानीय नेपालीलाई त्रसित मात्र बनाएको छैन , पार्कको सुरक्षामाथि पनि प्रश्न चिन्ह खडा गरेको छ । यो मात्र पहिलो घट्ना भने होइन, यसअघि पनि एकजना नेपाली महिलाको पार्कमा यस्तै दुःखद निधन भएको थियो ।

नेपाली मात्र होइन, यस्ता घट्नाको शिकार विभिन्न समुदायका जोकोही पनि हुने गरेका छन् । नेपालका लागि पूर्व ब्रिटिश राजदूत रिचर्ड मोरिस पनि गत मे ६ तारिखदेखि बेपत्ता छन् । ब्रिटेनको हयाम्पसायर बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान शारीरिक व्यायामका लागि घरबाट निस्किएका थिए । तर घरबाट निस्केको लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीद्वारा खोजी कार्य तीव्र भएपनि एक हप्ता बितिसक्दा समेत उनको बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।

यस्ता खालका घट्नाहरु प्रशस्त हुने गरेका छन् । ड्रग्ससंग सम्बन्धित धेरै घट्नाहरु हुनेगरेको पाइएको छ । यहां हुने हत्यामा धेरैजसो चक्कु प्रयोग गरिने भएकोले बेलायतमा चक्कु काण्डहरु प्रशस्त हुने गर्दछन् । बेलायतमा घट्ने यस्ता 
प्रायजसो घट्नाहरुमा ‘टीनएजर’ हरुको संलग्नता बढी पाइएको छ ।

तसर्थ पार्कमा जाँदा सकेसम्म एक्लै अनि साँझको समयमा नहिड्ने हो भने सुरक्षाको जोखिम न्यून गर्न सकिन्छ । यसैगरी, महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण पनि हाल बेलायतका पार्कहरु सुरक्षित छैनन् । सिमित रुपमा आफन्तसंग भेटघाट गर्ने  थलोको रुपमा पार्कमात्र एक विकल्प भएकोले अत्यधिक मानिसको भीड हुने र सामाजिक दुरी कायम नहुने भएकाले  कोरोनाको संक्रमण  बढ्ने निश्चित देखिन्छ । तसर्थ पार्कमा जाँदा स्वास्थ्य र सुरक्षा दुवैको ख्याल राख्न आवश्यक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू