बिहीबार, वैशाख १३, २०८१
12:33 | १७:१८

अस्पतालको सहयोगार्थ बेलायतकै लम्बाइको दूरी दौडिदै गोर्खाहरु

नेपाली लिङ्क मे १८, २०२०

तस्विर: द ब्रिगेड अफ गोर्खाज

लण्डन । कोरोना महामारीको संक्रमण भएकाको उपचारमा खटिइरहेको बेलायतको एक अस्पताललाई सहयोग गर्न बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरु पनि जुटेका छन् ।

केन्टको आसफोर्डस्थित ‘विलियम हार्भी अस्पताल’ र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुको सम्मानस्वरुप च्यारिटी दौड गरेर उनीहरुले तीन हजार पाउण्डको कोष समेत जुटाएको ‘द ब्रिगेड अफ गोर्खाज’ ले जनाएको छ ।

फोक्सटनस्थित ‘रोयल गोर्खा राइफल्स’ को पहिलो बटालियनका सदस्यहरुले उक्त अस्पताल सहयोगार्थ देशको लम्बाइ बराबरको दूरी दौडिने योजना बनाएका हुन् । जसअनुसार उक्त दूरी पूरा नहुञ्जेलसम्म बटालियनका सदस्यहरु पालो पालो गरेर बटालियनको कम्पाउण्ड वरिपरि दौडिनेछन् ।

अस्पतालको सहयोगमा च्यारिटी दौडको संयोजन बटालियनका सर्जेन्ट इन्द्र गुरुङ र कर्पोरेल नरेश राईले गरेका छन् । उनीहरु दुवै जनासहित सोहि बटालियनका कयौं गोर्खा सैनिकका श्रीमती र परिवारका सदस्य पनि उक्त अस्पतालमा कार्यरत छन् ।

महामारीका बेला सर्वसाधारणको जीवन रक्षाको लागि अनवरत रुपमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि च्यारिटी दौडको सोच बनाएको संयोजक सर्जेन्ट गुरुङले जनाए । आफ्नो स्वास्थ्यकै जोखिम मोलेर काममा खटिने उनीहरुको योगदानबाट धेरैको जीवन जोगिएको उनले बताए ।

अर्का संयोजक कर्पोरेल राईले सबै स्वासथ्यकर्मीप्रति सम्मान जनाउँदै सहयोगका लागि भने आफूहरुले स्थानीय अस्पताललाई चयन गरेको जानकारी दिए । अस्पतालको मनोबल उच्च पार्न मात्र नभइ सक्दो कोष जुटाउन समेत कोशिस गर्ने उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू