शुक्रबार, चैत १६, २०८०
00:16 | ०६:०१

इंग्ल्याण्डका अस्पतालमा १ सातामै २ हजारले घटे कोभिड बिरामी

परीक्षणको अनुपातमा संक्रमण घट्दो

नेपाली लिङ्क मे १२, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संग सम्बन्धित स्वास्थ्य समस्याका कारण अस्पतालमा रहने बिरामीहरुको संख्या क्रमिक रुपमा घट्न थालेको छ ।

उपचारको शिलशिलामा इंग्ल्याण्डका अस्पतालमा रहेका कोभिडसम्बन्धी बिरामीको संख्या एक सातामै २ हजारले घटेको छ ।

मंगलबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा ‘एनएचएस’ इंग्ल्याण्डका मेडिकल डाइरेक्टर प्रा स्टेफन पाविसले इंग्ल्याण्डका अस्पतालमा एक साताभित्रै उल्लेख्य संख्यामा कोभिड बिरामी घटेको जानकारी गराए ।

उनका अनुसार गत साता १३ हजार ६ सय ६ बिरामी कोभिडसम्बन्धी समस्याले इंग्ल्याण्डका अस्पतालमा रहेकोमा यस साता त्यो संख्या घटेर ११ हजार ६ सय ५ मा मा झरेको छ ।

अहिले इंग्ल्याण्डका विभिन्न अस्पतालमा रहेको कुल ‘क्रिटिकल केयर बेड’ मध्ये २२ प्रतिशत मात्रै कोभिड बिरामीले भरिएको प्रा पाविसले बताए ।

त्यस्तै, परीक्षणहरुको संख्या बढाइएको अनुपातमा नयाँ संक्रमण नबढ्नु पनि सकारात्मक रहेको उनको भनाइ थियो । केयर होमहरुमा भइरहेका मृत्युको संख्यामा पनि अप्रिलको अन्तिम सातामा केहि कमी आएको उनले जानकारी गराए ।

‘ब्रिफिङ’ को क्रममा सरकारका बिजनेस सेक्रेटरी आलोक शर्माले पछिल्लो २४ घण्टामा थप ६ सय २७ संक्रमितको मृत्यु भएको जानकारी गराए । यससंगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको जम्मा संख्या ३२ हजार ६ सय ९२ पुगेको छ ।

‘विकेण्ड’ मा विवरण संकलनमा ढिलाई हुने कारण पछिल्ला केहि दिन न्यून देखिएको मृतक संख्या मंगलबार फेरि बढेको हो । तर साप्ताहिक रुपमा मृत्युको संख्या क्रमिक रुपमा घट्दै गएको तथ्यांकले देखाएको छ ।

मंगलबार बिहानसम्मको २४ घण्टामा बेलायतमा ८५ हजार २ सय ९३ परीक्षण भएका छन् । जसमध्ये संक्रमण भेटिनेको संख्या ३ हजार ४ सय ३ छ । यससंगै बेलायतमा हालसम्मको कुल संक्रमित संख्या २ लाख २६ हजार ४ सय ६३ पुगेको छ ।

त्यसअवसरमा मन्त्री शर्माले महामारीबाट प्रभावित व्यवसायहरुलाई जोगाउन सरकारले हरसम्भव प्रयास गर्दै आएको बताए । अक्टोबरसम्म ‘फर्लो स्किम’ बढाउनेदेखि आवश्यक परेका व्यवसायहरुका लागि १४ विलियन पाउण्डसम्मको ‘ग्रयान्ट’ उपलब्ध गराउने कार्य भइसकेको उनको भनाइ थियो ।

‘लकडाउन’ मा केहि लचकता ल्याइएपनि संक्रमणको जोखिम कायम रहेको भन्दै लकडाउन र सामाजिक दूरीका नियमहरुको पालनालाई निरन्तर राख्न अझै पनि जरुरी रहेको मन्त्री शर्माले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू