शुक्रबार, चैत १६, २०८०
10:57 | १६:४२

लण्डनको प्लमस्टिडबाट हराइरहेकी धनमाया मृत भेटिइन्

नेपाली लिङ्क मे १२, २०२०

लण्डन । लण्डनको प्लमस्टिडबाट हराइरहेकी वृद्धा धनमाया थापा मृत अवस्थामा भेटिएकी छन् ।

पार्कमा हिड्न भन्दै आइतबार दिउँसो घरबाट निस्किएकी ६६ वर्षीया धनमायाको शव सोमबार राती स्थानीय प्लमस्टिड कमन पार्कको झाडीमा भेटिएको मगर संघ प्लमस्टिडका अध्यक्ष दलप्रसाद थापाले नेपाली लिंकलाई जानकारी गराए ।

प्रहरीले खोजी गर्ने क्रममा धनमायाको शव फेला पारेर सोमबार राती १० बजे घरमै आएर परिवारलाई खबर गरेको थियो । तर उनको मृत्यु कसरी भयो भन्ने अझै स्पष्ट हुन बाँकी छ ।

शुरुमा स्थानीय प्रहरीले खोजी गर्दा धनमायालाई भेट्न नसकेपछि सोमबार साँझ मेट्रोपोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ आएर खोजी थालेको थियो ।

धनमाया श्रीमान र छोरा, बुहारीसंगै पछिल्लो ९ वर्षदेखि प्लमस्टिडमा बस्दै आएकी थिइन् । उनका श्रीमान रेवतबहादुर थापा जिगेसाका उपाध्यक्ष हुन् ।

बिदामा नेपाल गएकी उनी गत मार्च महिनामा मात्रै बेलायत फर्किएकी थिइन् ।

यसअघि आइतबार दिउँसो १५ /२० मिनेटमै फर्किन्छु भनेर हिड्न गएकी धनमाया एक-डेढ घण्टासम्म पनि घर नफर्किएपछि परिवारले सोधीखोजी शुरु गरेको थियो । परिवारका सदस्य र आफन्तहरु मिलेर पार्क आसपासमा घण्टौंसम्म खोजी गरेका थिए भने प्रहरीलाई पनि खबर गरिएको थियो ।

धनमायालाई यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको र मानसिक अवस्था सामान्य रहेको परिवारले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू