शनिबार, वैशाख ८, २०८१
16:17 | २१:०२

नेपालमा थप १० जनामा संक्रमण, अब कुल संक्रमित १ सय २०

रासस मे ११, २०२०

कपिलवस्तु । नेपालमा भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा १५ सहित देशभरमा संक्रमितको कुल संख्या १ सय २० पुगेको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका-५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको ‘क्वारेन्टाइन’ मा बसेका थिए ।

अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा आठ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

बुद्धभूमि-७ मानपुर र वडा नं १० धनकौलीका एक-एक जना युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए ।

गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको ‘क्वारेन्टाइन’ मा रहेका १ सय २५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए ।

संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको ‘क्वारेन्टाइन’ मा पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू