बिहीबार, वैशाख १३, २०८१
05:39 | १०:२४

चेपाङ समुदायलाई परिवार पाल्न गाह्रो

रासस मे ७, २०२०

फाइल तस्विर

चितवन । ‘कोभिड-१९’ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहंदा दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला समस्यामा परेको छ । 

पाखोबारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने यो समुदायमा बाँकी छ महिना भने अन्यत्र गएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर, अहिले ज्याला मजदुरी गर्न नपाएपछि उनीहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल परेको छ । 

गाउँपालिकाले एक महिनाअघि १० केजी चामल वितरण गरेका थियो । तर १० केजी चामल सकिसकेकाले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्याला मजदुरी गरी चारजनाको परिवार पाल्दै आएका इच्छाकामना-३ धुषाका गमबहादुर चेपाङले बताए । अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुस्किल भएको उनको भनाइ छ । 

उनले भने, ‘बारीको उब्जनीले ६ महिना पनि खान मुस्किल हुन्छ बाँकी ६ महिना बाहिर जिल्लामा गएर ज्याला मजदुरी गरेर परिवार पाल्ने हो । तर अहिले अनिकालकै समयमा ज्याला मजदुरी ठप्प हुँदा घरमा चुल्हो बल्न गाह्रो भएको छ । गाउँपालिकाले दिएको १० केजी चामल पनि सकियो ।’

अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका ती समुदायका केहीले तरकारी खेती पनि गर्छन् तर फलाएको तरकारीसमेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काँक्रो बोटमै कुहिएर खेर गएको उनको भनाइ छ ।

उनले अब सरकारले आफूहरुलाई काम (रोजगारी) दिनुपर्ने बताउँछन् । दैनिक काम गर्न पाए मात्र परिवार पाल्न सकिने यो समुदायको भनाइ छ । 

जग्गा जमिनको कमी भएका कारण पनि कृषिमा आत्मनिर्भरसमेत बन्न नसकेको पनि उनीहरु बताउँछन् । धुषमा मात्र ५३ घर चेपाङ समुदायका परिवार छन् । अधिकांशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । 

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले भने चेपाङ समुदाय मात्र नभएर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यलाई  गाउँपालिकाले विकास निर्माणका काममा लगाउने जानकारी दिइन् । 

अब गाउँपालिकाले विकास निर्माणका काम पनि सञ्चालन गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका विपन्नलाई रोजगारी दिइने उनले बताइन् । 

तत्काल चुल्हो बल्ने अवस्था नआए वडा कार्यालय अर्थात् गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गर्दै उनले त्यस्तो अवस्थामा तत्काल राहत उपलब्ध गराइने बताइन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू