शुक्रबार, चैत १६, २०८०
14:17 | २०:०२

एनआरएनए यूकेको कोरोना कोषमा मिडल्याण्डबाट २२ सय ६३ पाउण्ड

नेपाली लिङ्क मे ६, २०२०

 

लण्डन । कोरोना महामारीका कारण प्रभावित बेलायतबासी नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले स्थापना गरेको आपतकालीन कोषमा मिडल्याण्ड क्षेत्रका नेपाली  तथा स्थानीय समाजको तर्फबाट पनि सहयोग जम्मा गराइएको छ ।

स्थानीय साझा नेपाली समाजको संयोजन र शान्ति नेपाली समाज, बेलायतको विशेष सक्रियतामा संकलित २ हजार २ सय ६३ पाउण्ड बुधबार एनआरएनए यूकेको खातामा जम्मा गराइएको साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारीले जानकारी दिए ।

मिडल्याण्डका बर्मिङहम, लेस्टर, नटिङहम, पिटरबरो, वुल्भरह्याम्पटन, डर्बी लगायत क्षेत्रका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको अध्यक्ष अधिकारीले बताए ।

उक्त रकम संकलनका लागि स्थानीय सिर्जनशिल लेस्टर नेपाल, नेपाली समाज नटिङहम, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन, पिटरबरो नेपाली समाज, नेपाली नौमती बाजा डर्बी लगायतले पनि समन्वय गरेका थिए । त्यस्तै, मिडल्याण्ड क्षेत्रमा रहेका एनआरएनए अगुवा तथा सामाजिक अभियन्ताहरुले पनि विशेष भूमिका निर्वाह गरेका थिए ।

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्ड क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीको तर्फबाट एकमुष्ट रुपमा सहयोग पठाइएको बताए ।

‘रकमको आकार सानो होला तर हामीले मिडल्याण्डका सबै क्षेत्रमा बस्ने नेपालीको सहभागितामा कोष संकलन गरेका छौं’, अध्यक्ष अधिकारीले भने, ‘यसलाई बेलायतमा साँच्चीकै अफ्ठेरोमा परेका नेपालीहरुको लागि एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा मिडल्याण्डको तर्फबाट साथ र ऐक्यबद्धताका रुपमा बुझियोस् भन्ने हाम्रो चाहना छ ।’

यसअघि एनआरएनए यूकेको कोरोना कोषमा मिडल्याण्डबाट महेश अधिकारी, एनआरएनए आइसिसी सदस्य दयानिधि  सापकोटा, अनररी काउन्सिल सदस्य रणबहादुर केसी, एनआरएनए यूके सचिव कोश्लेश्वर ढकाल, नारायण फुयाल, पशुपति पोखरेल, विष्णु चालिसे, गोविन्द खरेल, कृष्ण खरेल लगायतका अभियन्ताले व्यक्तिगत रुपमा समेत सहयोग जम्मा गराइसकेका छन् ।

मिडल्याण्ड क्षेत्रका नेपालीहरुको साझा संस्थाका रुपमा सन् २०१२ मा स्थापित साझा नेपाली समाज यूके निरन्तर रुपमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको छ ।

एनआरएनए यूकेको कोरोना कोषमा बुधबारसम्म १३ हजार ७ सय १ पाउण्डको प्रतिबद्धता आएको र त्यसमध्ये १२ हजार पाउन्डभन्दा बढी रकम संकलन भइसकेको संकलन समितिका संयोजक एवम् एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले बताए ।

कोषमा बेलायतस्थित झण्डै एक दर्जन नेपाली संघसंस्थाले पनि सहयोग जम्मा गराएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू