शनिबार, वैशाख ८, २०८१
06:07 | १०:५२

‘लकडाउन’ खोल्न माग गर्दै अमेरिकामा बन्दुकसहित प्रदर्शन

रासस-एएफपी मे १, २०२०

अमेरिका । बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी ‘डेमोक्रयाटिक गभर्नर’ लाई कोरोनाभाइरसका कारण जारी गरिएको ‘लकडाउन’ तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले ‘बुलेटप्रुफ भेष्ट’ समेत लगाएका थिए ।

ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी ‘हाउस चेम्बर’ भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।

मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।

‘राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे’, सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेकी छन् । ट्वीटरमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ । जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ । उनले भनिन्, ‘बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ ।’

प्लेकार्डसहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।

‘अमेरिकी प्याट्रियट जुलुस’ भनिएको उक्त प्रदर्शनलाई ‘मिसिगन युनाइटेड लिबर्टी’ भन्ने समूहले आयोजना गरेको थियो । यो समूहमा ८ हजार ८ सय भन्दा बढी व्यक्ति सदस्य छन् ।

यसै महिना ‘लकडाउन’ हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो । ‘जोन्स हप्किन्स विश्वविद्यालय’ का अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।

एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै ‘लिबरेट मिसिगन’ अर्थात ‘मिसिगनलाई मुक्त गरौं’ भन्दै ट्वीट गरेका थिए । गभर्नर ह्विटमरले सिएनएनलाई प्रदर्शनकारी रिसाउनु ठीक छ भन्दै प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू