शनिबार, वैशाख ८, २०८१
01:16 | ०६:०१

‘कोभिड १९’ का कारण बेलायतका नेपाली रेष्टुरेन्ट संकटतिर

नेपाली लिङ्क मे १, २०२०

‘गोर्खा एम्बेसी’ रेस्टुरेन्ट लेस्टर ।

लन्डन । बेलायतस्थित लेस्टरमा विगत आठ वर्षदेखि इटालियन रेस्टुरेन्ट ‘ओजी’ (टुडे) सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाको 
लेस्टरमै अर्को रेस्टुरेन्ट छ ‘गोर्खा एम्बेसी’  । कोभिड १९ महामारीका कारण अहिले ति दुवै रेष्टुरेन्टमा ताला लागेका छन् ।

‘ओजी’मा त यसअघि टेक वे थिएन तर नेपाली रेष्टुरेन्ट पनि पूर्णतः बन्द गरिएको सापकोटा बताउंछन् । उनकै शब्दमा वार्षिक ७ लाख पाउण्ड टर्न ओभर हुने रेस्टुरेन्ट अहिले मासिक ३० हजार पाउण्ड घाटामा छन् ।

कर्मचारीलाई तलव दिन सरकारले बेहोर्ने ८० प्रतिशत
(फर्लो स्किम) र ‘ग्रान्ट’ ले केही सघाउ पुगेपनि त्यो रेष्टुरेन्ट सर्भाइभ हुन पर्याप्त छैन् । सापकोटाका अनुसार मिडल्यान्डमा मात्र नेपालीका करिब सय रेस्टुरेन्ट छन् जसको हालत समान छ । ‘हामी दैनिक २५, ३० जना जुममार्फत अन्तरसंवाद गरिरहेका हुन्छौं । सबै साथीहरुको चिन्ता अब व्यवसाय चलाउन नसकिने भयो भन्ने नै हुन्छ,’ उनले सुनाए ।

लन्डनका अर्का व्यवसायी विजय थापाको अवस्था पनि उस्तै छ । थापाको पट्नीस्थित मुनाल तन्दुरीले अहिले ‘टेक वे’ सर्भिसमात्र गरिरहेको छ । ‘यसले खर्च धान्न पनि मुश्किल छ’, थापाले भने, ‘सरकारले दिने ग्रान्टले केही राहत दिएको छ तर व्यवसाय निरन्तर घाटामा जान थालेपछि परिस्थिति थप जटिल बन्ने निश्चित छ ।’

नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष थापाले संस्थामा आवद्ध करिब ७० प्रतिशत सदस्यहरुले अहिले टेक वे खोलिरहेको जानकारी दिए ।

एसोसिएसनको बुझाइमा बेलायतमा नेपाली रेष्टुरेन्ट संख्या करिब अढाइसय देखि ३ सयसम्म हुन सक्छ । लकडाउनका कारण ति सबैको हालत चौपट्ट छ ।

बेलायतमा रेष्टुरेन्ट व्यवसाय अरु दुई चार वर्ष संकटग्रस्त हुने चिन्ता व्यवसायीको छ । ‘कोरोना भाइरस रोकथामपछि पनि मुलुकमा आर्थिक मन्दी आउने भएपछि व्यवसाय संकट उन्मुखतिर गइरहेका छन् । धेरै बिजनेशमा ताला लाग्ने डर छ’, थापाले सुनाए ।

ग्रेसटस्थित ‘बेलिफ रेष्टुरेन्ट’ ।

ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा पनि अहिले टेक वे सेवामात्र छ । सञ्चालक विष्णु खरेल ‘टेक वे’ डेलिभरी बाट विगतको तुलनामा ६५ प्रतिशतमात्र कमाइ हुने बताउंछन् ।

‘स्टाफलाई फर्लो स्किममा राखेको छु । सरकारले दिएको १० हजार पाउण्ड ग्रान्टले रेन्ट तिर्न सजिलो भयो’, खरेलले भने, ‘आगामी जुन जुलाइ महिनासम्म लकडाउन खुले रेष्टुरेन्ट व्यवसाय सर्भाइभ हुन सक्छन् । त्यसपछि भयो भने चाहिं ठूलो डिजास्टर आइलाग्ने पक्का छ’, रेष्टुरेन्ट खोलेको १० वर्षमा यस्तो संकट भोगेका खरेलले भने ।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले विगत डेढ महिनादेखि लागू गरेको लकडाउन कहिले टुंगिने हो निश्चित छैन् । रेष्टुरेन्ट विजनेश सुचारु गर्न अनुमति भएपनि त्यसका केही प्रावधान रहने देखिएको छ । ‘सोसल डिस्टेन्सिङ प्रावधान राखिए १०० जनाको सिटमा ५० जनामात्र अट्छन् । आधा कम ग्राहकलाई ख्वाएर बिजनेश कसरी चल्छ र ?’ सापकोटाको प्रश्न छ ।

कोभिड १९ को औषधि वा खोप नबन्दासम्म रेष्टुरेन्ट वा आउटिङ गएर खाने, रमाइलो गर्न मानिस डराउने व्यवसायी बताउंछन् ।

भर्खर सिंढी चढ्दै गरेका नेपाली व्यवसाय कोरोना भाइरस महामारीले संकटतर्फ धकेलिएका छन् । बेलायतमा ५ वर्षसम्म आर्थिक मन्दी लम्बिने भविष्यवाणी भएकाले अब हस्पिटालिटी क्षेत्रको भविष्य कमै देख्छन् खरेल ।

सरकारको पोलिसीले ‘बिजनेश रेट’ का आधारमा प्रत्येक व्यवसायलाई १० देखि २५ हजार पाउण्डसम्म ग्रान्ट प्रदान गरेको छ । सरकारले जुन महिनासम्म कर्मचारीको ८० प्रतिशत ज्याला पनि तिरिदिने भएको छ । तर, अधिकांश नेपालीले कर नतिर्न नगदमा काम गरेकाले त्यो स्किमबाट लाभान्वित संख्या उल्लेख्य नहुने व्यवसायीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू