शुक्रबार, वैशाख ७, २०८१
15:25 | २०:१०

कोभिड १९ का कारण बेलायतमा औषधि अभाव चुलिंदै

नेपाली लिङ्क अप्रिल २७, २०२०

लन्डन । कोभिड १९ संक्रमणका कारण माग अत्यधिक भएपछि बेलायतमा औषधि अभाव शुरु भएको छ । कोरोना भाइरस महामारीका कारण झण्डै तीन गुणा बढि औषधि माग भएपछि देशभरका सघन उपचार कक्ष (आइसीयू) मा अत्यावश्यक औषधिहरु अभाव भएको हो ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने चिकित्सकहरुले देशैभरि अस्पतालका सघन उपचार कक्षहरुमा अत्यावश्यक औषधिहरुको अभाव हुंदै गएको गुनासो गरेका छन् ।

उच्च रक्तचाप, तनाव कम गर्न तथा शल्यक्रिया गर्नु अघि बिरामीलाई बेहोस बनाउन दिइने औषधिहरुको अभाव देखिएको हो ।

बिरामी लठ्याउन दिइने प्रोपोफोल, पेन किलर औषधिहरु फेन्टेनिल, अलफेन्टेनिल, रक्तचाप कम भएका बिरामीलाई ख्वाइने नोरड्रेनलिन, क्लोनिडिन जस्ता औषधि अभाव भएका हुन् ।

चिन्ता एवं ब्लड प्रेसरका लागि दिइने औषधिहरुको अभाव पनि हुन थालेको बताइएको छ ।

शरीरमा ट्युब हालेका बेला मसल प्यारालाइज गराउन दिइने एट्राक्यूरिअम, सिसाट्राक्यूरिअम र रोक्यूरोनियम जस्ता औषधिको आपूर्ति पनि न्यून छ । एनएचएसका मेडिकल डिरेक्टरहरुलाई पठाइएको तीन पेज लामो सचेत सूचनामा ति औषधि अभावबारे उल्लेख गरिएको बेलायती पत्रिका सन्डे टाइम्स्ले जनाएको छ ।

अग्रपंक्तिमा काम गर्ने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का ६ जना वरिष्ठ चिकित्सक र औषधि उत्पादकहरुका अनुसार अहिले कम्तीमा ८ खालका अत्यावश्यक औषधि अभाव भएको छ । लन्डन, बर्मिङहम र नर्थवेष्ट इंग्ल्याण्डका अस्पतालहरुमा अन्यत्रभन्दा बढि 
औषधि सकिएका छन् ।

वेष्ट मिडल्याण्डमा सघन उपचार कक्षमा कार्यरत एकजना कन्सल्टेन्ट रोन डेनियल्स्ले औषधि अभाव चुलिइसकेको बताउंदै आउंदो साता के गर्ने आफूहरुलाई मेसो नभएको उल्लेख गरेका छन् । उनले केही वैकल्पिक औषधि (सेकेन्ड लाइन ड्रग्स्) प्रयोगले बिरामीलाई हल्का ह्दयाघात हुन सक्ने पनि औंल्याए । डेनियलले निको हुने क्रममा रहेका धेरैजसो कोभिड १९ बिरामी चिन्ताबाट ग्रस्त हुने गरेकाले उनीहरुलाई क्लोनिडिनको सट्टा अरु औषधि दिंदा प्रभावकारी काम नगर्न सक्ने बताए ।

अभावबीच चिकित्सकहरु वैकल्पिक औषधि प्रयोग गर्न वाध्य भएका छन् । यसबाट कोभिड १९ बिरामीको राम्रो उपचार प्रभावित हुने चेतावनी दिंदै चिकित्सकहरुले वैकल्पिक औषधि दिंदा बिरामीलाई ह्दयाघात जस्तो खतरनाक ‘साइड इफेक्ट’ समेत हुन सक्ने बताएका छन् ।

लेटन हस्पिटल चेसायरमा आइसीयूमा कार्यरत डा. सुमित्रा काफ्ले आफ्नो अस्पतालमा औषधिको पूर्ण अभाव भइनसकेको तर माग अत्यधिक बढेकाले कहिले सकिने हो भन्न नसकिने बताउंछिन् । एनेसथेसिया र क्रिटिकल केयरमा चाहिने औषधिको माग अहिले बढि भएको डा. काफ्लेको भनाइ छ ।

बेलायत सरकारले समयमै काम गर्न असफल भएको भन्दै आलोचना भइरहंदा सरकारले औषधि अभाव हुन नदिन गत बिहीबार देखि ३३ प्रकारका अत्यावश्यक औषधिको निर्यातमा रोक लगाएको छ ।

केही समयअघि बेलायती स्वास्थ्यमन्त्री म्याट हयानककले बेलायतसंग आवश्यक औषधि भएको विश्वास दिलाएका थिए । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले सरकारले औषधि अभाव हुन नदिन सम्भव भएसम्मका उपाय अपनाइरहेको जनाएको छ ।

यसैबीच, विदेशमन्त्री डोमिनिक राबले लकडाउन खुकुलो बनाउन धेरै सावधानी कदम आवश्यक हुने बताएका छन् । बेलायतमा कोभिड १९ का कारण २० हजार बढिको मृत्यु हुनु ह्दयविदारक घट्ना बताउंदै उनले बीबीसीसंग लकडाउन कडाइ नभएको भए अवस्था झन् गम्भीर हुने बताए । उनले केही समय सोसल डिस्टेन्सिङ आवश्यक रहेको पनि बताएका छन् ।

यद्यपि मन्त्री राबले केही शर्तसहित विद्यालय, खेल र व्यवसायिक क्षेत्रलाई खुकुलो बनाउन सकिने संकेत भने गरेका छन् ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण आइतबारसम्म २० हजार ६ सय ८७ जनाले ज्यान गुमाएका छन् । आइतबार मार्चयताकै सबैभन्दा थोरै ३ सय ६८ जनाको मात्र मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । उता कोभिड १९ का कारण बेलायतमा हालसम्म ३३ नेपालीको निधन भएको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । –इकान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू