शुक्रबार, वैशाख १४, २०८१
12:46 | १७:३१

नेपालमा थप १० जनामा कोरोना संक्रमण, कुल संक्रमित ४२ पुगे

रासस अप्रिल २१, २०२०

मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।

काठमाडौँ । उदयपुरमा मंगलबार थप १० जनामा ‘कोभिड-१९’ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीले ‘कोभिड-१९’ को परीक्षणका क्रममा १० जनामा संक्रमण देखिएको बताए । यससंगै नेपालमा कुल संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।

सहप्रवक्ता डा  अधिकारीका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको संक्रमण देखिएको थियो ।

उनले ती संक्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका संक्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिए ।

यति धेरैको संख्यामा संक्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा संक्रमण देखिएको थियो ।

यसअघि मंगलबार नै उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा संक्रमण देखिएको थियो ।

प्रवक्ता अधिकारीका अनुसार मंगलबार पुष्टि भएका संक्रमितमध्ये दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला छन् ।

उनीहरु सबै विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका संक्रमितको संसर्गमा रहेका २ सय ६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको संक्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

यसैगरी, अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताऐ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू