शुक्रबार, चैत १६, २०८०
01:55 | ०७:४०

गौरिकाका बाबुलाई कोरोना संक्रमण, भन्छन्, ‘लुकाउनै हुन्न’

नेपाली लिङ्क अप्रिल १६, २०२०

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहको परिवार ।

लन्डन । लन्डन बस्ने कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका पिता युरोलोजिष्ट डा. पारस सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । लन्डन हयाम्सटेडस्थित रोयल फ्रि अस्पतालमा कार्यरत युरोलोजिष्ट डा. सिंह कोरोना संक्रमणपछि दुई सातायता घरैमा आराम गरिरहेका छन् ।

सिंह काम गर्ने अस्पताल भाइरस संक्रमित बिरामी उपचार गरिनेमध्ये लन्डनको एक अस्पताल हो । चिकित्सक सिंहले आफ्नो स्वास्थ्य अवस्था अहिले सुधार हुंदै गएको बताएका छन् । ‘१५ दिनजति भयो । अहिले ज्वरो कम छ तर कमजोरी महशुस भएको छ’, सिंहले भने, ‘मलाई सुख्खा खोकी लागेको थियो तर सास फेर्न भने गारहो भएन । कतिलाई श्वासप्रश्वासमा समस्या नहुन पनि सक्छ ।’ सिंहले सिटामोल खाएर, घरैमा बसी यस रोगलाई पराजित गरे ।

डाक्टर भएपछि अब काममा फर्कन कुनै डर नलागेको उनले बताएका छन् । ‘म सोमबारदेखि काममा जान्छु’, उनले भने, ‘खतरा धेरै छ, त्यसकारण सावधानी लिनुपर्छ । अनि आफैं पनि निको हुन्छ । यो भाइरस घरभित्र ल्याउने कि नल्याउने आफ्नै हातमा छ । सावधानी अपनाउंदा बंच्न सकिन्छ ।’

एकजना संक्रमित मानिस बाहिर हिंडडुल गरयो भने १५ सय मानिस संक्रमित हुन सक्ने बताउंदै पारस भन्छन्, ‘लक्षण देखिएपछि घरैमा बस्ने । 
प्रोपर हाइजिन मेन्टेन गर्ने, मास्क प्रयोग गर्ने गरेपछि रोक निको हुन्छ ।’

गौरिका आमा बाबुका साथ

परिवार भन्छन्: लुकाउनु हुन्न

कुराकानीका क्रममा पारसकी जीवनसंगिनी गरिमा राणाले कोरोना संक्रमणपछि आफूहरुलाई डर लागेको अनुभव सांटेकी छन् । ‘डर त लागिहाछ नि । तर, उहां चिकित्सक भएको र ‘फ्रण्टलाइन’ मा पनि काम 
गर्ने भएकाले यो सर्छ भन्ने त अनुमान थियो’, उनले भनिन्, ‘उहां बिरामी भएपछि हामीले नजिकका साथीहरुसंग ग्रुप च्याटमा कुरा गर्न शुरु गरयौं । यसले रिलिफ पनि भयो । यो रोग लुकाएर लुक्ने चिज होइन् ।’

बिरामी भएपछि पारस आफ्नो छुट्टै बेडरुममा बसेका थिए भने गौरिका, गरिमा र छोरा बेग्लै । ‘खाना तयार भएपछि उहांको बस्ने कोठाको ढोकानेर 
राखिदिन्थ्यौं’, गरिमाले भनिन्, ‘सिटामोलको भरमा बस्नुभयो । मल्टी भिटामिन, भिटामिन सी लिनुहुन्थ्यो ।’

ओलम्पियन छोरी गौरिका कतिपय मानिसहरु ‘लकडाउन’ मन नपराउने तर त्यो उनीहरुको गलत बुझाइ भएको बताउंछिन् । ‘सरकारले भाइरस बनाएको त होइन नि, हामीले धन्यवाद भन्नुपर्छ । उसले झन् हामीलाई सुरक्षित हुन सजग गराएको छ’-उनको भनाइ छ ।

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह

नेपाल सरकारले पनि ‘लकडाउन’ मा कडाइ गरेर धेरै राम्रो गरेको उनले बताइन् । गौरिकाले महामारी र लकडाउनका बेला मानसिक स्वास्थ्यका लागि योगा, मेडिटेसन उपयुक्त हुने पनि बताइन् । उनी पुल सबै बन्द भएकाले अहिले घरैमा अभ्यास गरेर आफ्नो ‘फिटनेश’ कायम राखिरहेकी छन् ।

पारस पत्नी गरिमा ‘कोभिड १९’ रोगबारे जति कुरा गर्यो उति चेतना बढ्ने बताउंछिन् । ‘खुल्ला छलफल गर्नुपर्छ । आफ्नो समस्या बेलैमा भने यो निको हुने रहेछ भन्ने कुराको प्रमाण त मेरै श्रीमान हुनुहुन्छ नि’- उनको भनाइ छ ।

गौरिका पनि मानिसले हेला गर्लान् भनेर चुप लागेर बस्दा झन् खतरा हुने बताउंछिन् । ‘हामीलाई ड्याडीले भनिहाल्नु भयो । नभनेको भए सायद हामीलाई पनि संक्रमण हुन सक्थ्यो कि’, उनले सुनाइन् ।

गौरिकाले सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा अनिवार्य सहभागिताअन्तर्गत नेपालको प्रतिनिधित्व 
गर्दैछिन् । तर, अहिले महामारीले गर्दा खेलबारे सोच्न नसकिरहेको उनी बताउंछिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू