शनिबार, वैशाख ८, २०८१
07:03 | ११:४८

बेलायतसहित युरोपका सबै नेपाली राजदूतले १ महिनाको तलब राहत कोषमा दिने

नेपाली लिङ्क अप्रिल ११, २०२०

राजदूत डा दुर्गाबहादुर सुवेदीसहित युरोपमा रहेका सबै नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब राहत कोषमा सहयोग गर्ने भएका छन् ।

लण्डन । युरोपका विभिन्न मुलुकमा रहेका सबै ९ जना नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब राहत कोषमा सहयोग गर्ने भएका छन् ।

नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा राजदूतहरुले सहयोग जम्मा गराउने भएका हुन् ।

युरोपका सबै राजदूतहरुबीच एक साताअघि सम्पन्न बैठकमा एक महिनाकै तलब सहयोग गर्ने सल्लाह भएको लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

आरनका अनुसार, ९ वटै दूतावासमा रहेका ‘डिप्लोम्याटिक स्टाफ’ ले समेत आफ्नो १ साताको तलब उक्त कोषमा जम्मा गराउनेछन् ।

‘१ साताको तलबका लागि सरकारले यसअघि नै परिपत्र गरिसकेको थियो । सोअनुसार सबै कर्मचारीले १ साताको तलब अनिवार्य जम्मा गराउनेछन् । तर महामहिमज्यूहरुले भने आफ्नो तर्फबाट १ महिनाकै तलब जम्मा गर्ने निर्णय गर्नुभएको छ’, प्रवक्ता आरनले भने ।

१ महिनाको तलब सहयोग गर्ने युरोपस्थित नेपाली राजदूतहरुमा बेलायतका डा दुर्गाबहादुर सुवेदी, बेल्जियमका लोकबहादुर थापा, फ्रान्सका दिपक अधिकारी, जर्मनीका रमेश खनाल, रशियाका ऋषि घिमिरे, स्पेनकी दाबा शेर्पा, डेनमार्कका युवनाथ लम्साल, स्वीजरल्याण्डका मणि भट्टराई र अष्ट्रियाका प्रकाश सुवेदी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू