शुक्रबार, चैत १६, २०८०
12:29 | १८:१४

कोरोनाको चपेटामा स्पेनका नेपाली

'लिगल स्ट्याटस' नहुनेहरु थप मर्कामा

भोला लामिछाने अप्रिल ९, २०२०

स्पेनमा करिब ४ सातादेखि जारी ‘लकडाउन’ अझै कहि अवधि बढ्ने निश्चित छ ।

बार्सिलोना । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण स्पेनमा रहेका नेपालीहरु पनि उच्च जोखिममा छन् । गत महिनादेखि ‘लकडाउन’मा रहेको स्पेनमा बस्दै आएका नेपालीहरु आर्थिक हिसाबले समेत प्रभावित बनेका छन् ।

यहाँको ‘कानुनी हैसियत’ (लिगल स्ट्याटस) बनाउने प्रक्रियामा रहेका नेपालीहरुको अवस्था झन दर्दनाक छ । यूरोपका विभिन्न देशहरूबाट ‘सेटल’ हुने सपना बोकेर स्पेन आएकाहरु समस्यामा परेका छन् ।

स्पेनमा ३ वर्ष लगातार बसेर यहाँको सरकारको नियम पालन गरी विभिन्न प्रक्रिया पुरा गरेपछि आवासीय अधिकार प्राप्त गर्ने गरिन्छ । यही प्रक्रियामा रहेका थुप्रै नेपालीहरू अहिले बेरोजगार अवस्थामा छन् । उनीहरुको लागि स्पेन सरकारले समेत केहि व्यवस्था गरेको छैन । ‘कानुनी हैसियत’ नभइसकेकाहरुको जीवन लकडाउनले निकै कष्टकर बनाइदिएको छ ।

‘घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनौँ, बाहिर निस्के प्रहरीको कारबाहीमा परिन्छ । घरमा रहेको खानेकुराहरू पनि सकियो । सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन’ समस्यामा परेका नेपालीहरुको दुखेसो छ । भर्खरै स्पेन आएका नेपालीहरू झन बढि मारमा परेका छन् ।

३ महिनाअघि पोल्यान्ड हुँदै स्पेन आएका एक नेपाली युवाले अहिले आफु ठूलो समस्यामा परेको बताए । ‘१५ लाख दलाललाई बुझाएर बल्ल बल्ल पोल्यान्ड आएपछि पनि भनेको काम पाइएन । आउने क्रममै भएको पैसा पनि सकियो । साथीले कोठासम्म खोजेर मद्दत त गरिदिए, तर उनी पनि काम नभएर धेरै महिनादेखि खाली बसिरहेका रहेछन्’, उनले समस्या सुनाए ।

‘यहि बेलामा पूरै देश बन्द छ । न त काम छ, न घरबाट मगाएर खान सक्ने अवस्था । त्यही माथि बार्सिलोनामा नेपालीलाई पनि कोरोना लागेको समाचारहरूले परिवारमा समेत चिन्ता बढाएको छ’, परिचप गोप्य राख्न चाहने एक पीडितले भने ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा नेपाली समुदायको अभिभावक मानिने नेपाली दूतावास पनि छ । तर, दूतावासले पीडितका लागी ठोस राहत कार्यक्रम ल्याउन सकेको छैन । यहाँको नेपाली समुदायमा ४० भन्दा बढी संघसंस्थाहरु छन् । जसले चाहेमा धेरै नेपालीहरुलाई सहयोग गर्न सक्ने अवस्था छ । तर यसतर्फ उनीहरुको पनि ध्यान गएको देखिंदैन ।

स्पेनमा दूतावास स्थापना भएको दुर्ई वर्ष भइसक्यो । तर अहिलेसम्म पनि यहाँ नेपालीहरू कति छन् भन्ने यकिन तथ्यांक दूतावाससंग नहुनु लज्जाको विषय छ । ‘जब भयो राती. तब बुढी ताती’ भनेझैं कोरोनाको माहामारी नेपाली समुदायमा छिरेपछि दुतावास नेपालीको तथ्याड्क लिन तम्सिएको छ ।

नेपालमा महाभूकम्पको बेला स्पेनबाट सवा करोड रुपियाको सहयोग पठाइएको थियो । तर अहिले कोरोनाको चपेटामा परेका स्पेनबासी नेपालीलाई कसैले हेरेका छैनन् । यो महामारी यसरी नै बढ्दै गएमा स्पेनमा रहेका नेपालीहरूलाई सकुशल स्वदेश फर्किने वातावारण बनाउनु नेपाल सरकारको जिम्मेवारी रहन्छ । जसतर्फ सम्बन्धित कसैको ध्यान गएको छैन ।

अहिलेसम्म स्पेनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १९ जना पुगेको छ । एकजना निको भएर घर फर्केका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू