बिहीबार, वैशाख १३, २०८१
17:17 | २२:०२

कोरानाबाट बेलायतमा एकै दिन २ नर्सको निधन

नेपाली लिङ्क अप्रिल ३, २०२०

कोरोना संक्रमणबाट निधन भएकी नर्स आरिमा नासरिन (तस्विर स्रोत- वाल्सल एनएचएस ट्रस्ट)

लण्डन । पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना भाइरसको संक्रमणबाट २ जना नर्सले ज्यान गुमाएका छन् । कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिने क्रममा संक्रमित बनेका उनीहरुको शुक्रबार मृत्यु भएको हो ।

बेलायत सरकारको दैनिक कोरोना ब्रिफिङमा शुक्रबार इंग्ल्याण्डकी चिफ नर्सिङ अफिसर रुथ मेले मृतक नर्सहरुप्रति सम्मान व्यक्त गरिन् ।

मृत्यु हुने नर्समा ३९ वर्षीया एमी ओरुर्क र ३६ वर्षीया आरिमा नासरिन छन् । उनीहरुमध्ये एमीको केन्टस्थित क्वीन एलिजावेथ द क्वीन मदरमा उपचारको क्रममै निधन भएको हो । उनी तीन सन्तानकी आमा थिइन् ।

त्यस्तै, अर्की मृतक आरिमाको वेस्ट मिडल्याण्डस्थित वाल्सल म्यानर अस्पतालमा मृत्यु भएको थियो । दुई सातासम्म सघन उपचार कक्षमा रहेकी उनी भेन्टिलेटरमा थिइन् ।

बेलायतमा कोरानाविरुद्ध फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पर्याप्त व्यवस्था नभएको गुनासोहरुका बीच दुई जना फ्रन्टलाइनर नर्सहरुको मृत्यु भएको हो ।

शुक्रबारको सरकारी ब्रिफिङलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सेवाका क्रममा ज्यान गुमाउने स्वास्थ्यकर्मीहरुप्रति सम्मान व्यक्त गरे । उनले महामारीको समय फ्रन्टलाइनमा जुधिरहेका सबैको साहस र समर्पणको प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू