मंगलबार, वैशाख १८, २०८१
01:33 | ०६:१८

आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श गठन

दुई देशबीच व्यापार र लगानी प्रवर्द्धनको उद्धेश्य

नेपाली लिङ्क अगस्ट ८, २०२०

लन्डन । आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श गठन भएको छ । शनिबार सम्पन्न एक भर्चुअल कार्यक्रममार्फत आयरल्याण्डका लागि समेत नेपाली राजदूत डा.  दुर्गाबहादुर सुवेदीले चेम्बर गठनको घोषणा गरे ।

आयरल्याण्डका प्रतिष्ठित उद्योगी एवम् व्यवसायी भिन्सेन्ट ब्यारीको अध्यक्षतामा आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श गठन भएको हो  । चेम्बरको नयाँ कार्यसमितिमा उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दिपेशमान शाक्य र अन्य उपाध्यक्षहरुमा प्रोफेसर डोरक टर्ली, जिवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला चयन भएका छन्  । त्यस्तै, निर्देशक पदमा रही विभिन्न क्षेत्रहरुको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारीलाई चुनिएको छ । 

चेम्बरको अन्य पदाधिकारीमा महासचिव एलिसन इरविन, सहसचिव चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यहरुमा पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की छन् । साथै, सल्लाहकारमा क्याथरिन नुन, लिण्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गंगाराम कंडेल मनोनित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा.  सुवेदीले आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श गठनले आयरल्याण्डबाट नेपालमा लगानी अभिवृद्धि गर्न तथा नेपाली वस्तु र सेवाहरुको व्यापार आयरल्याण्डमा विस्तार गर्न थप सहज हुने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले संस्थालाई आफ्नो स्थापनाको उद्धेश्यअनुरुप कार्य गर्न सुझाव दिँदै लगानी प्रवर्द्धन, व्यापार विस्तार, पर्यटन प्रवर्द्धन र अन्य सहयोगका क्षेत्र विस्तार गरी नेपाल र आयरल्याण्डबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने कार्यमा नेपाली दूतावासले समन्वय र पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे   

आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष भिन्सेन्ट ब्यारीले आफू सधैं नेपालको सच्चा मित्र रहेको स्मरण गराउँदै द्धिपक्षीय व्यपार, लगानी र अन्य सहयोगहरुको विस्तारका लागि आफू र आफ्नो नेतृत्वको चेम्बर सधैं सक्रिय रहने वचनवद्धता व्यक्त गरे ।

आयरल्याण्डको संसदका सभामुख सम्माननीय सिन ओ फर्घाइलले शुभकामना मन्तव्य पठाएर आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शको गठनबाट नेपाल र आयरल्याण्डबीच व्यापार र लगानी अभिवृद्धि गर्न सघाउ पुग्ने भएकोले यस कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएका थिए ।

कार्यक्रममा दिल्लीस्थित आयरल्याण्ड दूतावासका उपनियोग प्रमुख पिटर ओ कनेलले नेपाल र आयरल्याण्डबीच द्धिपक्षीय सहयोग, व्यापार र लगानी विस्तार गर्न आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शलाई आयरल्याण्ड सरकारको सहयोग निरन्तर रहने जानकारी गराए ।  

आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिपेशमान शाक्यले नेपाली दूतावास लण्डनको सहयोगबाट आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन गर्न सम्भव भएको र आगामी दिनहरुमा नेपालमा व्यापार र पर्यटन एवं आयरल्याण्डको लगानी विस्तार गर्न क्रियाशिल रहने विचार व्यक्त गरे । 

नेपालका लागि आयरल्याण्डका मानार्थ कन्सुलर मनोजबहादुर श्रेष्ठले यस संस्थासंग समन्वय गरी कार्य गर्न आफू इच्छुक रहेको बताए । नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरणले आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए । 

कार्यक्रम संचालन आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शकी महासचिव एलिसन इरविनले गरेकी थिइन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू