शनिबार, २८ नोभेम्बर, २०२६
16:51 | २२:३६

स्कटल्यान्डको एबर्डिनमा लकडाउन, नेपालीहरु सुरक्षित

प्रकाश अर्याल अगस्ट ७, २०२०

स्कटल्याण्ड । स्कटल्याण्डको एबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको छ ।

एबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय  नेपाली समुदाय अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छ ।  

एबर्डिनमा क्रियाशील नेपाली संस्था ‘अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयर’ का ट्रष्टी दिपेश रेग्मी अहिले एबर्डिनमा नेपाली समुदायमा संक्रमण नदेखिएको बताउँछन्   । 

यसअघिको लकडाउनमा केहि नेपालीहरुलाई कोरोना संक्रमण भए पनि अहिले सबैजना संक्रमणरहित भएको रेग्मीले बताए ।   

स्थानीय पबहरुबाट फैलिएको संक्रमणका कारण १०१ जनालाई कोरोना देखिएको र  कोरोना संक्रमितहरुसंग सम्पर्कमा आएका ३१३ जना को ट्रयाक भएको एनएचएस ग्रामपियनले जनाएको छ ।  

संक्रमित हुनेहरुमा अधिकांश युवा छन् । यस्तै स्कटिस प्रिमियर खेल्ने  क्लब आबर्डिन फुटबल क्लबका पब गएका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडी आइसोलेशनमा छन् । 

८ मुख्य खेलाडीहरुमा संक्रमणको प्रभाव  देखिएका कारण एबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरसिपमा खेल्ने खेलहरु स्थगित भएका छन् ।  

एबर्डिनस्थित एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्रीले  एबर्डिनको नेपाली समुदाय सचेत रहेकोले पहिले पनि कोरोना संक्रमणको असर कम देखिएको र फेरि लकडाउन भएका कारण बढी सतर्कता अपनाउनुपर्ने बताउँछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू