मंगलबार, जेठ ८, २०८१
15:33 | २०:१८

राष्ट्रिय कलाकारको धमाकासहित बर्मिङहममा मनाइयो नेपाली नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल ४, २०२४

लन्डन- बेलायतको मिडल्यान्ड क्षेत्रमा बस्ने नेपालीले नयाँ वर्ष २०८१ धुमधामले मनाएका छन्।

शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित ‘द कन्फरेन्स सुइट’ मा सयौँको सहभागितामा नयाँ वर्ष मनाइएको हो ।  

समाजका अध्यक्ष प्रविण खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रसहित राष्ट्रिय एवम् स्थानीय कलाकारले विविध सांस्कृतिक प्रस्तुति दिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सांसद विष्णु सापकोटाले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना दिइन् । उनले शान्ति नेपाली समाजले सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरिन्।

विशिष्ट अतिथि आध्यात्मिक गुरु डा चिन्तामणि नाथ योगीले सभ्य समाजका लागि असल संस्कार आवश्यक रहेको बताउंदै आफ्ना बालबालिकालाई नेपाली संस्कार र संस्कृति सिकाउन अभिभावकहरुलाई आग्रह गरे।  

समाजका अध्यक्ष प्रवीण खरालले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, संघसंस्थाका प्रतिनिधिलाई धन्यवाद दिए ।

महासचिव विनोद थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिए।  

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु वसन्त लम्साल, यज्ञ विक र सपना गाहामगरले सांगीतिक धमाका प्रस्तुत गरे। त्यस्तै, स्थानीय कलाकारले आकर्षक नाचहरु देखाए।  

सो अवसरमा स्थानीय वेष्ट ब्रोमिच, किङ स्ट्याण्डिङ र यार्डलीमा सञ्चालित नेपाली भाषा कक्षामा प्रथम, द्वितीय, तृतीय हुने तथा अनुशासन र हाजिरीमा उत्कृष्ट बालबालिकालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू