लण्डनको केन्द्र क्यानरी वार्फमा खुल्यो होली काउको ९ औं शाखा



लन्डन – लण्डनको केन्द्र क्यानरी वार्फमा होली काउ रेस्टुरेन्टको ९ औं शाखा शुभारम्भ भएको छ ।
होली काउ समूहको नवौं ब्रान्च फाइन डाइन रेस्टुरेन्टको रुपमा सोमबार औपचारिक रुपमा शुरु भएको हो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सीबीआइ) का अध्यक्ष लर्ड करन बिलिमोरियाले उक्त रेस्टुरेन्टको सामूहिक रुपमा उद्घाटन गरे।
उक्त अवसरमा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले ब्रिटेनमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए।
उनले नेपालीहरुले जहाँ गए पनि मेहनती, अनुशासित र उद्यमशील जातिको पहिचान बनाएको जनाए । उनले होली काउ समूहको सफलताले अरु नेपाली व्यवसायीलाई पनि हौसला मिलेको बताए ।
कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सीबीआइ) का अध्यक्ष लर्ड बिलिमोरियाले बेलायतमा कार्यरत नेपाली लगायत एसियाली व्यवसायीहरुको उद्यमशीलताको प्रशंसा गरे।
आप्रवसनले गर्दा ब्रिटिश अर्थतन्त्रलाई धेरै फाइदा पुगेको भन्दै उनले आप्रवसनकै कारण ब्रिटिश अर्थतन्त्र विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्न पुगेको बताए ।
आफ्ना स्वर्गीय पिता लेफ्टिनेन्ट जनरल फरिदुन बिलिमोरियाले भारतीय सेनाको गोर्खा ब्रिगेडको नेतृत्व गरेको स्मरण गर्दै उनले गोर्खालीहरुको साहस संसारमै अद्वितीय रहेको पनि जनाए।
उक्त अवसरमा होली काउ समूहका अध्यक्ष कुल आचार्यले बार्क्लेज बैंककी शाखा प्रवन्धक लगायत विशिष्ट पाहुनाहरु, टाढाटाढाबाट आएका मित्रहरु, समस्त ग्राहक वर्ग लगायत रेस्टुरेन्टलाई छोटो समयमै संचालनमा ल्याउन रातदिन खट्ने होली काउ समूहका निर्देशकहरु, स्टाफ तथा परिवारजनलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आगामी दिनमा पनि आफ्नो समूहले उच्च गुणस्तरका साथ सेवा विस्तार गर्ने लक्ष बनाएको बताए ।
होली काउ समूहकी निर्देशक पायल मिश्रले सबैलाई स्वागत गरेकी थिइन् भने आचार्यकी कान्छी छोरी कृतिका आचार्यले नृत्य प्रदर्शन गरेकी थिइन्।
कार्यक्रममा ब्याग पाइपर बजाएर पाहुनाहरुको स्वागत गरिएको थियो भने पहिले नै बुक गरेर आएका सैयौं ग्राहकले ‘कम्प्लिमेन्टरी’ खाना तथा ड्रिंक्स लिएका थिए।
तस्बिर- कुशल श्रेष्ठ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५