बुधबार, २४ जुन, २०२६
00:14 | ०४:५९

गोर्खा सुपुत्र किरणको अवस्था अझै अज्ञात, हत्या आशंकामा समातिएका ५ जना सबै रिहा

नेपाली लिङ्क जनवरी १, २०२३

लन्डन । गत १ डिसेम्बरदेखि हराइरहेका भूतपूर्व गोर्खाका सुपुत्र ३६ वर्षीय किरण पुनको खोजीमा जुटिरहेको प्रहरीले अर्को अपिल जारी गरेको छ ।

शनिबार हयाम्पसायर एण्ड आइल अफ हवाइट प्रहरीले किरण अन्तिमपटक देखिएको बसका एक यात्रुसंग विशेष कुरा गर्न चाहेको जनाउंदै उनीबारे केही जानकारी भए सम्पर्क गर्न भनेको छ ।

किरण १ डिसेम्बर बेलुका साढे ७ बजेतिर फार्नबोरो अल्डरसट गुड्ने बसबाट अल्डरसट रेलवे स्टेशनमा ओर्लिएका थिए ।

किरण चढेकै बसको माथि भरयाङनेर रहेका एक यात्रु पनि संगै ओर्लिएको देखिएको जनाउंदै प्रहरीले उनीसंग केही जानकारी भए आफ्नो अनुसन्धानमा सहयोग पुग्ने उल्लेख गरेको छ । प्रहरीले डिसेम्बर १ मा किरणको गतिविधि देखिने सिसिटिभी, ड्यासक्याम, डोर बेल वा अन्य केही फुटेज भए उपलब्ध गराइदिन अपिल गरिरहेको छ ।

किरणसंगै ओर्लिएका यात्रु

यसैबीच, किरणको हत्या आशंकामा गिरफ्तार भएका ५ जना नै अहिले रिहा भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान जारी राख्दै फार्नबरोबाट समातिएका २१, २० र १७ वर्षका तीन युवा तथा अल्डरसटबाट समातिएका ३६ वर्षका र फ्लीटबाट गिरफ्तार २९ वर्षीय एक पुरुषलाई जमानतमा रिहा गरिएको जनाएको छ ।

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता छन् ।

किरण ५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आंखा र चिउंडोमा दाग रहेको प्रहरीले बताएको छ ।

प्रहरीले किरणलाई देखे वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेको छ । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू