मंगलबार, वैशाख १८, २०८१
18:12 | २२:५७

लन्डनमा सवारी दुर्घटनामा ३१ वर्षीय नेपाली युवाको मृत्‍यु

शव नेपाल पठाउन एनआरएनए यूकेले सहयोग जुटाउने

नेपाली लिङ्क नोभेम्बर २५, २०२२

लन्डन। लन्डनमा विहीबार राती सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्‍यु भएको छ।

पूर्वी लन्डनको इल्फोर्डमा बस्दै आएका डडेल्धुराका ३१ वर्षीय महेश चन्दको दुर्घटनामा मृत्‍यु भएको परिवारलाई उदृत गर्दै एनआरएनए यूके अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिए।

खड्काका अनुसार विहीबार राती कामबाट फर्किने क्रममा स्वर्गीय चन्द चढेको मोटरबाइक सडकको बम्परमा  चिप्लिएर उछिट्टिएपछि पुलमुनि खसेको थियो।

रातीको समयमा पानी पनि परिरहेको कारण उक्त दुर्घटना भएको बुझिएको छ।

स्वर्गीय चन्द विगत ८ वर्षदेखि परिवारसहित बेलायत बस्दै आएका थिए। उनका श्रीमती र ६ तथा डेढ वर्षका दुई छोरा छन्।  

एनआरएनए यूकेले सहयोग जुटाउने

यसैबीच, एनआरएनए यूकेले स्वर्गीय चन्दको शव नेपाल पठाउन सहयोग गर्ने भएको छ।

चन्द परिवारको आग्रहमा संस्थाले बेलायतमा चन्दा संकलन गरी परिवारलाई सहयोग गर्न लागेको अध्यक्ष खड्काले जनाए।

‘उहाँको परिवारले शव नेपाल लगेर अन्त्येष्टि गर्ने ईच्छा राख्नुभएको छ।तर शव नेपाल पठाउने कार्य खर्चिलो र झञ्झटिलो हुने भएकाले संस्थासँग सहयोगको आग्रह गर्नुभएको छ’, उनले भने, ‘ यो अवस्थामा हामीले समुदायमा केही आर्थिक संकलन जुटाएर सहयोग गर्ने कोशिश् गर्दैछौं ।’ 

अध्यक्ष खड्काले शुक्रबार एक वक्तव्य जारी गर्दै मानवीय कार्यमा सक्दो सहयोग गरिदिन बेलायतवासी सबै नेपालीमा आव्हान गरेका छन्। 

सहयोग अभियानबारे थप जान्न वा बुझ्न अध्यक्ष खड्का र उपाध्यक्ष दीपक श्रेष्ठलाई सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू