बेलायतकी महारानीको निधनमा नेपाली समुदायका अगुवाहरुद्वारा गहिरो दु:ख ब्यक्त


लन्डन – बेलायतस्थित नेपाली समुदायका अगुवाहरुले महारानी लिजाबेथ द्वितीयको निधनमा गहिरो दुख ब्यक्त गरेका छन्।
ब्रिटेनको लिड्स विश्व विद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदी ओबीइले बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा गहिरो दु:ख ब्यक्त गर्नुभयो ।
‘बेलायती महारानी एक शालीन व्यक्तित्व थिइन् जसले स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्दथिन्। उनको निधनले बेलायतले मात्र होइन सम्पूर्ण संसारले एक नमूना व्यक्तित्व गुमाएको छ र एउटा युगको अन्त्य भएको छ,’ उहांले भन्नुभयो । प्रा. सुवेदीले महारानीको जीवनबाट सबै व्यक्तिहरूले सिक्नुपर्ने धेरै पाठ रहेको बताउनुभयो ।
‘उनको परिवारमा पनि धेरै प्रिय र असजिला सबै घटना घटे तर उनी विचलित भइनन् बरु सबैलाई सकारात्मक ऊर्जा प्रवाह गरिरहिन् । यी सबै उनका विशेषता हुन् ,’ प्रा सुवेदीले भन्नुभयो ।
बेलायतकी महारानीबाट तीनवटा उच्च्च स्तरका नियुक्ति र राष्ट्रिय सम्मान पाएका सुवेदीले महारानीको निधनले आफूले एउटा ठूलो रिक्तता महसुश गरेको बताउनु भयो र महारानीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभयो ।
महारानीको निधन एउटा राष्ट्रिय र अंतरराष्ट्रिय रूपमै अपूरणीय क्षति हो भन्दै उहांले बेलायती राजपरिवार, बेलायती जनता र स्थायित्व, समृद्धि र स्वतन्त्रतामा आस्था भएका सबैलाई गहिरो समबेदना ब्यक्त गर्नु भयो ।
एकदमै राष्ट्रवादी व्यक्तित्व
गएको ४३ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक डा राघव धिताल ओबीइले पनि महारानी एलिजाबेथ द्वितीयको निधनबाट आफू अत्यन्तै दुखी भएको बताउनु भयो ।
‘स्वर्गीय महारानी देशको लागि सोच्ने, एकदमै राष्ट्रवादी र आफ्नो मुलुक तथा कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर सोच्ने एक गैर राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ डा धितालले भन्नुभयो।
‘त्यस कारणले बेलायतमा राजसंस्था निकै लोकप्रिय भयो र अधिकांश जनताले पनि स्वीकार गरेका छन्,’ उहाँले भन्नु भयो।
सबै जातजाति र समुदाय मिलेर बसुन् भन्ने महारानीको चाहना भएको र उनलाई धेरैले राष्ट्रिय एकताको संकेतको रुपमा हेर्ने गरेको उहांले स्मरण गर्नु भयो ।
‘गोर्खा सैनिकहरुलाई स्वर्गीय महारानी र उहाँका पति स्वर्गीय फिलिपले पनि निकै माया तथा सम्मान गर्नु हुन्थ्यो,’ डा धितालले भन्नु भयो । आफू विद्यार्थी नै रहंदा नेपालमा सन् १९६१ मा उहाँहरु दुवैलाई पहिलोपटक देखेको उहांले स्मरण गर्नुभयो ।
‘उहाँ युके एकताबद्ध रहिरहोस् भन्ने चाहनु हुन्थ्यो। उहाँबाट सिक्ने कुरा धेरै छन्,’ डा धितालले भन्नु भयो ।
९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बिहीबार निधन भएको थियो। उहांको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री नियुक्त भएका थिए।
आफ्ना पति प्रिन्स फिलिपसंगै महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गर्नु भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


