आइतबार, जेठ १२, २०८२
00:05 | ०४:५०

एनआरएनए यूकेको २६ हजार पाउन्ड गायब भएको छैन, च्यारिटी खातामा सारिएको छ

नेपाली लिङ्क जुन ९, २०२२

लन्डन।एनआरएनए यूकेको वेल्फेयर एकाउन्टमा रहेको २६ हजार पाउन्ड संस्थाको च्यारिटी एकाउन्टमा स्थानान्तरण गरिएको छ।

एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले वेल्फेयर एकाउन्टमा रहेको २६ हजार ९ पाउन्ड ९ पेन्स संस्थाको च्यारिटी एकाउन्टमा ट्रान्सफर गरिएको जानकारी दिए।

संस्थाको खाताबाट २६ हजार पाउन्ड गायब भएको भन्दै वर्तमान कार्यसमितिले निवर्तमान कार्यसमितिकी अध्यक्षलाई पत्र लेखेको केही दिन बित्न नपाउंदै उक्त रकम संस्थाकै अर्को बैंक खातामा सारिएको खुलेको हो।

कोषाध्यक्ष खरेलले पर्याप्त जानकारीको अभावमा संस्थाको कोष गायब भएको हल्ला चलेको बताए।

‘कम्प्लाएन्ससम्बन्धी केही समस्याले गर्दा बैंकले यसअघि वेल्फेयर एकाउन्ट बन्द गराइदिएको रहेछ। हामीले त्यसलाई रिएक्टिभेट गराएर त्यहाँको सबै रकम च्यारिटी खातामा सारेका छौं’- कोषाध्यक्ष खरेलले भने । 

खरेलका अनुसार यसअघि पूर्व कार्यसमितिका पदाधिकारीहरुकै नाममा रहेको एनआरएनए यूकेको वेल्फेयर बैंक खाता बन्द गराउने प्रक्रिया समेत अहिले शुरु गरिसकिएको छ। 

कोषाध्यक्ष खरेलले बेलायतवासी सम्पूर्ण नेपालीको लगानी परेको एनआरएनए यूकेको कोष कुनै पनि हालतमा दुरुपयोग वा अपचलन हुन नदिन आफू कटिबद्ध रहेको दोहोर्‍याएका छन्। 

साथै, अनावश्यक रुपमा संस्थालाई विवादित पार्ने खालका हल्लाको पछि नलाग्न पनि उनले बेलायतको नेपाली समुदायलाई आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू