मंगलबार, वैशाख १८, २०८१
03:41 | ०८:२६

राजदूत आचार्य: परराष्ट्रदेखि संयुक्त राष्ट्रसंघसम्म (भिडियो)

नेपाली लिङ्क मार्च १८, २०२२

लण्डन-बेलायत नेपाल कूटनीतिक सम्बन्ध झण्डै २०७ वर्ष पूरानो छ । बेलायती सेनामा गोर्खा भर्तीले दुई देशबीचको पारस्परिक सम्बन्ध अझ गाढा बनाएको देखिन्छ । बेलायत नेपाललाई सहयोग गर्ने देशमा अग्रस्थानमा छ ।  नेपालले विदेशमा आफ्नो पहिलो मिसन स्थापना गरेको देश बेलायत नै पहिलो हो ।

सन् १९३४ मा बहादुर शम्सेर जंगबहादुर राणा बेलायतका लागि पहिलो नेपाली राजदूत भएपछि हालसम्म २१ जना राजदूतले आफ्नो कार्यकाल पूरा गरि सकेका छन् ।  नेपालको सबैभन्दा पूरानो कूटनीतिक सम्बन्ध भएको बेलायतमा अहिले २२ औं राजदूतका रुपमा ज्ञानचन्द्र आचार्य आइपुगेका छन् ।

सन् २०२२, फेब्रुअरी २३ मा बेलायतका लागि २२ औं राजदूतका रुपमा आफ्नो पदबहाली गरिसकेका राजदूत आचार्य विशेष गरि गोर्खा मुद्दा परिणाममुखी बनाउन सक्रिय भइसकेका छन् । सन् १९६० नोभेम्बर २० मा तनहुँमा जन्मिएका हुन् आचार्य ।

बेलायतका लागि राजदूत भएर आउनु अघि उनले सन् २०१७ अगष्ट देखि फेब्रुअरी २०१८ सम्म प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए । सन् १९८३ मार्चमा शाखा अधिकृतबाट नेपालको परराष्ट्र सेवा प्रवेश गरेका आचार्यले परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारीदेखि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि र उपमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनद्वारा उपमहासचिवमा नियुक्त आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन् ।

सन् २०१२ देखि २०१७ सम्म संयुक्त राष्ट्र संघका उप–महासचिव र अति अल्पविकसित देशहरुका लागि उच्च प्रतिनिधि भएर काम गरेका आचार्यले सन् २००९ नोभेम्बर देखि २०१२ सेप्टेम्बरसम्म संयुक्त राष्ट्र न्यूयोर्कमा नेपालको राजदूत र स्थायी प्रतिनिधिको रूपमा काम गरे ।

सन् २००३ देखि २००७ सम्म जिनिभामा संयुक्त राष्ट्र संघ र विश्व व्यापार संगठन (डब्लुटीओ) का लागि नेपालको राजदूत तथा स्थायी प्रतिनिधि भएर काम गरेका छन् । सन् २००७ फेब्रुअरीदेखि नोभेम्बर २००९ सम्म नेपालको परराष्ट्र सचिव रहेका आचार्यले आफ्नो लामो कार्यकालमा  मन्त्रालयमा विभिन्न पदमा  रही विदेश मामिला र कूटनीतिक नियोगमा लामो अनुभव संगालेका छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण आचार्य द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय कयौं बैठकहरूमा सहभागी भएका छन् । उनी परराष्ट्र नीति, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू, दिगो विकास, वातावरण र जलवायु परिवर्तन तथा जोखिममा परेका देशहरूसँग सम्बन्धित राष्ट्रिय र क्षेत्रीय संस्थाहरूसँग पनि संलग्न थिए ।

बेलायतसंगको सम्बन्धमा एउटा छुट्टै अस्तित्व रहेको गोर्खाली सौनिकको नाता जति प्रगाढ छ, पछिल्लो समय त्यति नै जटिल बन्दै गएको छ । २०७ वर्ष लामो इतिहाँसमा भूपू गोर्खाहरु आफूमाथि विभेद भएको भन्दै समान अधिकारका लागि वर्षौं देखि लड्दै आएका छन् ।

आन्दोलनका विभिन्न चरण पश्चात बेलायत सरकार वार्ता गर्न राजी भएपछि नेपाल सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्ने जिम्मा पाएका राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो तर्फबाट पहल सुरु गरिसकेका छन् ।

तत्कालिन राजदूत डा. दुर्गाबहादुर सुवेदीको पालामा भूपू गोर्खा मुद्धा उठान भएर निवर्तमान राजदूत लोकदर्शन रेग्मीको पालामा प्रक्रियागत ढंगले अघि बढेको थियो । तर, अकस्मात रेग्मीको नेपाल फिर्तीका कारण अन्योलमा रहेका भूपू गोर्खाको मुद्धा परिणाममुखी बनाउने जिम्मा राजदूत आचार्यमाथि छ । आचार्यबाट भूतपूर्व गोर्खाले धेरै आशा पनि राखेका छन् ।

राजदूत आचार्यको श्रीमति सुनिता आचार्य  र एक छोरा, एक छोरी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू