एनआरएनलाई डलर खाता खोल्न थप सहज


लन्डन । गैर आवासीय नेपाली ( एनआरएन ) का लागि नेपाली बैंकमा डलर खाता खोल्न राष्ट्र बैंकले थप सहज पारिदिएको छ । खाता संचालनका लागि आवश्यक कागजात तथा न्यूनतम मौज्दातमा गरिएको पछिल्लो परिवर्तित नियमले विदेशमा बसेर आफ्नै देशको बैंकमा खाता खोल्न धेरैलाई सहज हुने बेलायतस्थित ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए ।
यसअघि अनिवार्य रुपमा एनआरएनए कार्ड पेश गर्नुपर्ने भएपनि अब गैर आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी) का आधारमा पनि खाता खोल्न सकिने उनले बताए । यस्तो खातामा अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनु पर्नेछ । यसअघिको नियममा सो रकम पांच हजार अमेरिकी डलर निर्धारण गरिएको थियो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र नं. २१ जारी गर्दै गैर आवासीय नेपाली नागरिकहरुले खाता खोल्दा वा सञ्चालन गर्दा आवश्यक कागजपत्रका साथै न्यूनतम मौज्दातको बारेमा स्पष्ट पारेको छ ।
विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरि नेपाल सरकारले भर्खरै मात्र गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको थियो ।
खाता खोलेपछि ग्राहकलाई निशुल्क एटीएम कार्ड उपलब्ध गराइनेछ र आवश्यक परे कतिपय विदेशका बैंकमा समेत प्रयोग गर्न मिल्नेछ । आवश्यक कागजातका आधारमा नावालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने व्यवस्था छ ।
ग्लोबल आइएमइ बैंकले खातावाहकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत शुल्कमा छुट र खातावालका परिवारलाई घर कर्जा तथा सवारी कर्जा दिँदा शुल्कमा विशेष छुट दिने व्यवस्था गरिएको जनाएको छ ।
ग्लोबल आइएमइ बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन्। बैँकले वचतमा ३ प्रतिशत र फिक्स्ड डिपोजिटमा ४ प्रतिशत ब्याज दिने भएको छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा विशेष प्रिमियम प्रदान दिइने बैंकले जनाएको छ । साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।
बेलायतमा रहेका नेपालीहरुले निकै उत्साहकासाथ खाता खोल्ने गरेको र कतिपयलाई बैंक एटीएम कार्ड समेत उपलब्ध गराइसकेको चालिसेले बताए । नेपालमा विदेशी मुद्रामा खाता खोलेर लाभान्वित हुन सबै बेलायतवासी नेपालीलाई उनले आग्रह गरे ।
खाता खोल्न आवश्यक कागजपत्रहरु :
क) गैर आवासिय नेपाली नागरिकहरुको खाता खोल्दा वा सञ्चालन गर्दा निम्नानुसारका कागजातमध्ये कुनै एकमात्र कागजातको आधारमा खाता खोल्न सकिनेछ ।
१. नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्र,
२. गैर आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी),
३. साविकमा स्वयम् वा निजको बावु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पहि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात ।
ख) गैर आवासीय नेपालीबाट प्रबद्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा समेत माथि उल्लेखित कागजातको प्रतिलिपि लिनु पर्नेछ ।
ग) यस्तो खातामा अमेरीकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनु पर्नेछ ।
सम्पर्क:-
Global IME Bank
Representative Office United Kingdom
19B Union Street
Aldershot, Hampshire
GU11 1EP
Tel: 01252208773
Email: [email protected]
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


