मंगलबार, वैशाख १८, २०८१
13:52 | १८:३७

आइसीसीलाई एनआरएनए यूकेको जवाफ: यत्तिकै शुल्क पठाउँदैनौं

माग सुनुवाइ नहुँदासम्म शुल्क नबुझाइने

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आइसीसीलाई बुझाउनुपर्ने आफ्नो सदस्यता शुल्क यथावस्थामा नपठाउने स्पष्ट पारेको छ ।

आइसीसी सचिवालयले एनसिसी यूकेले उठाएका कयौं विषयमा बेवास्ता गर्दै आएको भन्दै उचित सुनुवाइ नहुँदासम्म शुल्क नबुझाइने बताइएको छ ।  

यसअघि यूकेबाट ११ हजार बढी सदस्यको लागि पठाइनुपर्ने ५६ हजार डलर बुझाउन ताकेता गर्दै आइसीसी अध्यक्ष कुमार पन्तले पठाएको पत्रको जवाफमा एनआरएनए यूकेले शुल्क नबुझाउने जनाएको हो ।  

अध्यक्ष प्रेम गाहामगरले लेखेको पत्रमा गैर-आवासीय नेपाली संघ यूके संघको अन्तराष्ट्रिय समन्वय परिषदसंग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तव्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराइएको छ। तर सदस्यता शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद यूकेका सरोकारका विषयहरुको समयमै सुनुवाइका लागि आग्रह पनि गरिएको छ। 

पत्रमा भनिएको छ, ‘गैर-आवासीय नेपाली संघ यूकेका सदस्यहरुको तर्फबाट संघको दशौं महाधिवेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनु पर्नेमा हामी स्पष्ट छौं । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट पठाइएका प्रतिनिधि सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाबाट भने हामी चिन्तित छौं । राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन सकिरहेका छैनौं । हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस् भन्ने चाहन्छौं ।’ 

यसैगरी पत्रको दोश्रो बुंदामा भनिएको छ – ‘गैर-आवासीय नेपाली संघ यूके हालै मात्र बेलायतको स्थानीय कानून अनुसार कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । यस संस्थाबाट हुने सम्पूर्ण आर्थिक गतिविधि नियम कानूनको परिधिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ । अतः केन्द्रमा सदस्यता शुल्क बापतको रकम पठाउनु पहिले वैधानिक दायित्व श्रृजना हुने गरी केन्द्र र हामीबीचमा अधिकार, कर्तब्य र दायित्व बाँडफाँडको सामान्य दस्ताबेजको रुपमा नियमानुसारको सम्झौता पत्र (MoU) तयार गरी हस्ताक्षर हुन जरुरी हुन्छ । हाम्रो तर्फबाट यस्तो दस्ताबेजका सम्बन्धमा आवश्यक तयारी भैसकेको जानकारी गराउदै अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट समेत समयमै आवश्यक पहल हुनका लागि अनुरोध गर्न चाहन्छौं ।’

गैर-आवासीय नेपाली संघ यूकेको बैंकिङ कारोवार पूर्ण हस्तान्तरण नभइसकेको र रकम स्थानान्तरण सहज नभइरहेको कारण समय लाग्न सक्ने अवस्था जानकारी गराउँदै पत्रमा भनिएको छ – ‘अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुसारको हाम्रो दायित्व समयमै बुझाउने कुरामा हामी पुर्ण प्रतिबद्ध छौं। हाम्रा चासोका विषयहरुमा अध्यक्षज्यूको समयमै ध्यान जानेछ भन्नेमा हामी विश्वस्त छौं ।’

त्यस्तै गैरआवासीय नेपाली संघ यूकेको नेपाल हाउस बनाउने कार्यक्रम बारेमा जानकारी गराउँदै आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ । ‘करिव दुई लाख गैर-आवासीय नेपालीहरुको बसोबास भएको भनिएको यो देशमा गैर-आवासीय नेपाली संघ तथा यहाँ रहेका नेपालीहरुको साझा घरको आवस्यकता महशुस भएको छ । अतः गैर–आवासीय नेपाली संघ यूकेले यो बर्ष नेपालीहरुको साझा घर ‘नेपाल हाउस’ बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनुहुनका लागि हार्दिक अनुरोध गर्दछौ’-पत्रमा भनिएको छ।

आइसीसीले भने आगामी मार्च तीन तारिखभित्र शुल्क नपठाए यूकेका ‘डेलिगेट्सहरु आसन्न निर्वाचनमा भाग लिनबाट वञ्चित हुने चेतावनी दिइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू