बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गर्ने गोर्खालाई भिसा शुल्क नलाग्ने



फाइल तस्विर
लन्डन । बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका विदेशीहरुलाई बेलायतको भिसा आवेदन गर्न शुल्क नलाग्ने भएको छ ।
सरकारले आफ्नो सेनामा कार्यरत गैरबेलायती (विदेशी नागरिक) सैनिकहरुका लागि ल्याएको भिसा शुल्क छुटको सुविधाबाट गोर्खाहरु पनि लाभान्वित हुने भएका छन् ।
सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका र सेवाकै क्रममा घाइते वा बिरामी परेर अवकाश लिने विदेशी नागरिकले बेलायतको भिसा लिन कुनै शुल्क तिर्नुपर्नेछैन ।
बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिति पटेलले लन्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकहरुलाई भेटेर भिसा शुल्क छुटको घोषणा गरेका छन् ।
भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरुको हकमा पनि लागू हुने जनाइएको छ।
रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकहरुले बेलायती सेनामा पुर्याएको योगदानको कदरस्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताएका छन् ।
बेलायती सेनामा अहिले गोर्खाहरुसहित झन्डै ९ हजार सैनिक गैरबेलायती छन् । उनीहरुलाई अवकाशपछि परिवारसहित बेलायतमा ‘सेटलमेन्ट’ को सुविधा छ । बेलायतमा सेटलमेन्ट भिसा आवेदन गर्दा अहिले प्रतिव्यक्ति २ हजार ३ सय ८९ पाउन्ड शुल्क बुझाउनुपर्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५