मंगलबार, वैशाख १८, २०८१
08:49 | १३:३४

राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

रासस डिसेम्बर ५, २०२१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्› लिङदेन विजयपछि धारणा राख्दै । तस्बिर-रासस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशनमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।

शनिबार सम्पन्न निर्वाचनमा लिङ्देनले एक हजार ८१७ मत प्राप्त गरेका थिए ।

उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरे । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् ।

उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी विसं २०४८ मा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए ।

जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बनेका हुन् । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका उनी विसं २०६०-६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बनेका थिए ।

उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय छन् । उनको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, संगठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसकेका उनी एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू