शनिबार, २८ नोभेम्बर, २०२६
19:38 | ०१:२३

प्रतिभा नक्षत्रमा सर्वसम्मत नयाँ कार्यसमिति- चुनिए ट्रष्टी, संरक्षक र निर्देशक

नेपाली लिङ्क नोभेम्बर २८, २०२६

नवनिर्वाचित कार्यसमिति

लन्डन- प्रतिभा नक्षत्र यूकेमा नयाँ नेतृत्व चयन भएको छ।

शनिबार लन्डन प्लमस्टेडस्थित नखाः छेः यूकेमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले विजया दाहाल भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो। यसअघि उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरिसकेकी भण्डारीले अब संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेकी हुन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सत्यप्रसाद प्रजापति, सचिवमा आस्था जोशी, सहसचिवमा रेनुका मगर, कोषाध्यक्षमा लभसन खड्का र सहकोषाध्यक्षमा अमिका महत क्षेत्री चुनिएका छन्।
सदस्यहरुमा राजेन्द्र खस, आशिष श्रेष्ठ, कवि कुसुम्या, भाविका लोप्चन, सौरभी दाहाल, युजिता मल्ल, नितेश देव, सुमित शेखर देव, ओम महतो, राममाया थापा विष्ट, जीवनबहादुर शाही, सुजाता लिम्बू र ईन्दु इस्बु लिम्बु चुनिएका छन्।

२१ सदस्यीय नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ। सुशील प्रजापतिको नेतृत्वमा सवेन्द्र अधिकारी र दिलु थापा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएको थियो ।

अधिवेशनले मनिषकुमार श्रेष्ठ, सूर्यविक्रम केसी र इन्द्रकुमार कार्कीलाई प्रतिभा नक्षत्रको ट्रष्टी चयन गरेको छ । त्यस्तै, संरक्षकमा सिम्मी पुन, सुशिल प्रजापति, सुलभ श्रेष्ठ र ओमप्रसाद थापा काउचा एवम् निर्देशकमा राजेन्द्र खस, लछुमन गुरुङ र सन्तोष कार्की चुनिएका छन्।

ट्रष्टी, संरक्षक र निर्देशक

रिक्त केही पदाधिकारी, सदस्य र सल्लाहकार कार्यसमितिबाट पछि चयन गरिनेछ ।

निवर्तमान समितिका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी अध्यक्ष ह्यारी गुरुङ, काउन्सिलर जीत रानाभाट, निर्वाचन समिति प्रमुख एवम् पासा पुचः यूके अध्यक्ष सुशिल प्रजापतिलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन महासचिव आस्था जोशीले गरेकी थिइन्।

सो अवसरमा सचिव र कोषाध्यक्षबाट प्रस्तुत संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो । त्यसैगरी, विधान संशोधनको प्रस्ताव पनि छलफलबाट पारित भएको छ ।

बेलायतमा नेपाली कला, संस्कृति संरक्षण, प्रवर्द्धन एवम् पुस्तान्तरणको लक्ष्यसहित सन् २०१७ मा स्थापना भएको थियो प्रतिभा नक्षत्र। राजेन्द्र खसको परिकल्पनामा स्थापना भएको प्रतिभा नक्षत्रले बेलायतमा सात संस्करणका आफ्ना कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

बेलायतमा हालै सम्पन्न लर्ड मेयर शोदेखि वर्षेनी आयोजना हुने नेपाली मेलासहितका कयौं महत्वपूर्ण स्टेज र अवसरमा समेत प्रतिभा नक्षत्रले नेपाली कला, संस्कृति प्रवद्र्धन र प्रदर्शनी गर्दै आएको छ।

हालै, प्रतिभा नक्षत्रको नेपाल शाखा समेत स्थापना भएको छ भने अब चाँडै काठमाडौं र सुर्खेतमा अस्तित्व जात्रा आयोजना गर्ने तयारी छ । जुन अवसरमा पूर्वदेखि पश्चिम नेपालसम्मको मौलिक कला, संस्कृति, परम्पराको संरक्षण, प्रवर्द्धन एवम् स्थानीय उत्पादनहरुको प्रदर्शनी र विक्री वितरण गरिनेछ ।

नवनिर्वाचित अध्यक्ष

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू