अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम


सिड्नी । अष्ट्रेलियामा आर्थिक मन्दी (रिसेसन) आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैङ्किङ समूह म्याक्वेरीले चेतावनी दिएको छ । समूहका अनुसार मुलुकमा आर्थिक मन्दीको जोखिम करिब ५० प्रतिशत नजिक पुगेको छ ।
म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अष्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको सङ्केत देखिएको बताएका छन् । उनका अनुसार व्यवसायीहरूको कमजोर मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने सम्भावना देखाएको छ ।
डेभरेलले अष्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणहरूले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्तता आएको सङ्केत गरिरहेको बताए । यद्यपि, म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुमानअनुसार चौथो त्रैमासिकमा अर्थतन्त्र संकुचित हुने सम्भावना कम देखिए पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनको भनाइ छ ।
म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकै पटक आर्थिक दबाबमा परेका छन् । यी परिस्थितिले अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ ।
यसअघि एचएसबीसीका अष्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अष्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गरेका थिए । उनले समेत आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताएका थिए ।
सोमबार संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जिडिपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताए ।
यद्यपि, कोषाध्यक्ष र केन्द्रीय बैङ्क दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् सङ्कुचन हुने अपेक्षा नगरेको उनले स्पष्ट पारे ।
चाल्मर्सले सन् २०२६ अष्ट्रेलियाका नागरिक, अर्थतन्त्र र विश्व समुदायका लागि निकै कठिन वर्ष रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थिति सहज हुनुअघि थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
अष्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरेको छ। कोषाध्यक्ष चाल्मर्सका अनुसार इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण समग्र मुद्रास्फीति निकै उच्च रहने अर्थशास्त्रीहरूको अनुमान छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



