मंगलबार, २४ नोभेम्बर, २०२६
18:01 | २३:४६

ब्रिटिश गोर्खाद्वारा बाढीपीडितलाई ६२ लाख ५३ हजार सहयोग

नागरिकता निरन्तरताबारे गृहमन्त्रीको ध्यानाकर्षण

नेपाली लिङ्क नोभेम्बर २४, २०२६

​लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ ब्रिटिश गोर्खासम्बद्ध विभिन्न सङ्घसंस्था तथा प्रतिनिधिहरूले सङ्कलन गरेको रु. ६२ लाख ५३ हजार ७ सय ३ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।

​गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति र ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (बीजीएनसीसीसी–युके/नेपाल) को पहलमा ‘जीपीजीआई’, ‘इन्टेक–१९८१’, ‘२/२ जीआर’ र ‘क्युजीएलआर’ का प्रतिनिधिहरूले संयुक्त रूपमा उक्त रकम गृहमन्त्री सुदन गुरुङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका हुन्।

चन्दा रकम हस्तान्तरण गर्न गएको प्रतिनिधिमण्डलमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, बीजीएनसीसीसी–युके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ, फुर्बा शेर्पा, लालबहादुर घिसिङ, ठाकुरसिंह गुरुङ, कृष्ण केदेम, कृष्णबहादुर राना र आशमान राई सहभागी थिए।

​गोर्खा सत्याग्रह नेपालका प्रमुख सल्लाहकार लाल घिसिङको संयोजनमा भएको उक्त भेटघाटमा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई र सल्लाहकार घिसिङले गृहमन्त्री गुरुङलाई गोर्खा सत्याग्रहको आगामी निर्णायक आन्दोलनका विषयमा विस्तृत जानकारी गराएका थिए।

भेटका क्रममा ब्रिटिश गोर्खा तथा तिनका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।


बीजीएनसीसीसी–युके/नेपालका प्रमुख संयोजक सन्तोष थलङले सन् २०११ देखि नै आफ्नो संस्थाले गोर्खाहरूको वंशजको नागरिकता निरन्तरताका लागि संवैधानिक व्यवस्था गर्न सरकारसँग निरन्तर आग्रह गर्दै आए पनि हालसम्म आश्वासनबाहेक ठोस उपलब्धि नभएको गुनासो गरे।

​उनले वर्तमान सरकार र प्रतिनिधिसभाले यस राष्ट्रिय मुद्दालाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे। संवैधानिक व्यवस्था नहुन्जेल गोर्खा र तिनका सन्ततिहरूले नेपालमा भोगिरहेका दैनिक कानुनी तथा प्रशासनिक झन्झट अन्त्य गर्न अध्यादेश वा नागरिकता ऐन संशोधनमार्फत निकास दिन र अनावश्यक दुःख नदिन सम्पूर्ण प्रशासनिक निकायमा तत्काल परिपत्र (सर्कुलर) जारी गर्न थलङले गृहमन्त्रीसमक्ष आग्रह गरे।

​प्रत्युत्तरमा गृहमन्त्री गुरुङले गोर्खाहरूको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफू गम्भीर र प्रतिबद्ध रहेको बताए। उनले यस विषयमा ठोस छलफल गर्न भोलि (मङ्सिर ९ गते) अपराह्न ३ बजे नै बीजीएनसीसीसीका प्रतिनिधिहरूसँग बैठक बस्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई तत्काल निर्देशनसमेत दिएका छन्।

​उक्त अवसरमा बीजीएनसीसीसी नेपालका संयोजक फुर्वा गर्ज शेर्पाले नागरिकता निरन्तरता अभियानका क्रममा हालसम्म तयार पारिएका सम्पूर्ण आधिकारिक दस्तावेजहरू गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू