सोमबार, १६ नोभेम्बर, २०२६
08:54 | १४:३९

अनेसास बेलायत च्याप्टरको दशौँ अधिवेशन डिसेम्बर ५ मा

नेपाली लिङ्क नोभेम्बर १६, २०२६

लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको दशौँ अधिवेशन आगामी ५ डिसेम्बर २०२६ मा सम्पन्न हुने भएको छ।

गत ७ नोभेम्बर २०२६ मा बसेको च्याप्टरको साधारण सभाले अधिवेशनमार्फत सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको हो।

साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि संस्थाका सल्लाहकार सुमलकुमार गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिका अन्य सदस्यहरूमा सल्लाहकार डा. रूपक श्रेष्ठ तथा निवर्तमान अध्यक्ष एवं अनेसास केन्द्रका यूरोप महाद्वीपीय उपाध्यक्ष राज श्रेष्ठ छन्।

निर्वाचन समितिले आगामी कार्यकालका लागि बेलायत च्याप्टरका इच्छुक आजीवन सदस्यहरूबाट विभिन्न पदमा उम्मेदवारी आह्वान गरेको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष एक, उपाध्यक्ष एक, महासचिव एक, सहसचिव एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र कार्यकारी सदस्य तीन गरी कुल नौ जना रहनेछन्।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको अन्तिम मिति १५-२५ नोभेम्बर २०२६ तोकिएको छ। त्यसैगरी २८ नोभेम्बरमा उम्मेदवारहरूको नामावली घोषणा गरिनेछ भने ३० नोभेम्बरसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। निर्वाचन ५ डिसेम्बर २०२६ मा सम्पन्न हुनेछ।

उम्मेदवारी दिन इच्छुक आजीवन सदस्यहरूले निर्धारित आवेदन फाराममा आफ्नो विवरण, प्रस्तावक र समर्थकको नाम तथा हस्ताक्षरसहित आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन समितिसमक्ष पेस गर्नुपर्नेछ। प्रस्तावक र समर्थक दुवै अनेसासका सदस्यता अद्यावधिक भएका सदस्य हुनुपर्नेछ।

निर्वाचन समितिले उम्मेदवारी दिन चाहने सदस्यहरूलाई २५ नोभेम्बरभित्र [email protected] मा आवेदन पठाउन अनुरोध गरेको छ।

निर्वाचन समितिका संयोजक सुमलकुमार गुरुङले बेलायतमा रहेका अनेसासका योग्य एवं इच्छुक आजीवन सदस्यहरूलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

बेलायतमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय अनेसास बेलायत च्याप्टरको दशौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाका आगामी साहित्यिक गतिविधि र कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू