बेलायतको मिडल्याण्ड्समा पहिलोपटक म्हः पूजा तथा न्हुँ दँ समारोह


लन्डन । पासा पुचः गुथि यूके मिडल्याण्ड्सले पहिलोपटक म्हः पूजा तथा न्हुँ दँ समारोह ११४७ आयोजना गरेको छ ।
हालै गठन भएको उक्त च्याप्टरले गत १० नोभेम्बर मंगलबार यू ट्री वेष्ट ब्रोमीच मिडल्याण्ड्समा पहिलोपटक म्हः पूजा तथा न्हुँ दँ कार्यक्रम गरेको हो ।
च्याप्टर अध्यक्ष निशेन्तमान बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सहभागीहरुलाई मण्डपमा राखी तेल, अक्षता, फूल, फलफूल तथा विभिन्न परिकारले पूजा गरिएको थियो । कार्यक्रममा आएका नेवार तथा गैर नेवार समुदायले नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।
म्हः पूजाकै दिनदेखि नयाँ वर्षका रूपमा नेपाल संवत् सुरु हुने भएकाले यस दिनको विशेष सांस्कृतिक तथा ऐतिहासिक महत्त्व छ। नेपाल संवत्लाई नेपालको मौलिक राष्ट्रिय संवतका रूपमा लिइन्छ । यस संवत्को सुरुवात शंखधर साख्वाले जनताको ऋणमोचन गरी गरेको जनविश्वास छ।
अध्यक्ष बज्राचार्यले कार्यक्रम तयारीदेखि समापनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले सबैको साथ, सहयोग, सद्भाव र एकताकै कारण शाखाको पहिलो म्हः पूजा तथा न्हुँ दँ समारोह भव्य रुपमा सफल भएको पनि जनाए ।
भविष्यमा समेत नेवा मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने यात्रामा सबैको निरन्तर साथ र सहयोग रहने अपेक्षा अध्यक्ष बज्राचार्यको छ ।

बेलायतको मिडल्यान्ड्समा पासा पुचः गुथिको नयाँ च्याप्टर
बेलायतको मिडल्यान्ड्स क्षेत्रमा नेवाः भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हालैमात्र पासा पुचः गुथि यूके, मिडल्यान्ड्स च्याप्टर स्थापना गरिएको छ। च्याप्टरको औपचारिक उद्घाटनसँगै पहिलो कार्यसमिति पनि घोषणा गरिएको छ।
नोभेम्बर ७, शनिबार लेस्टरस्थित गुर्खा करीमा आयोजित कार्यक्रममा निशेन्तमान बज्राचार्यको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरिएको थियो ।
नवगठित समितिको उपाध्यक्षमा हरि महर्जन, महासचिवमा पंकज प्रधान, सहसचिवमा रमा श्रेष्ठ र कोषाध्यक्षमा दिव्या श्रेष्ठ चयन भएका छन्। त्यसैगरी शिक्षा तथा संस्कृति, युवा, सामुदायिक सेवा तथा परोपकार र सामाजिक सञ्जाल विभागका संयोजक तथा सदस्यहरू पनि चयन गरिएको छ।
उद्घाटन समारोहमा साउथ इस्ट लन्डन च्याप्टरबाट बीओटी अध्यक्ष सुशील प्रजापति, बीओटी संयुक्त कोषाध्यक्ष तथा उपाध्यक्ष सोनी श्रेष्ठ, पूर्वअध्यक्ष एवं बीओटी कार्यकारी सदस्य माधव लाल श्रेष्ठ र नेवाः मैजु पुचः संयोजक गायत्री श्रेष्ठ सहभागी भएका थिए।
त्यस्तै, रिडिङ च्याप्टरबाट अध्यक्ष दिव्या महर्जन, महासचिव सुदांशु श्रेष्ठ तथा पूर्वअध्यक्षहरू राजेन्द्र श्रेष्ठ र जानकी कायस्थ सहभागी भएका थिए। लन्डन च्याप्टरबाट पूर्वअध्यक्ष तथा संरक्षक ओजेश सिंह र बीओटी सल्लाहकार, संरक्षक एवं च्याप्टर अध्यक्ष सचेतन तुलाधरको उपस्थिति थियो ।
नवनिर्वाचित अध्यक्ष बज्राचार्यले मिडल्यान्ड्स क्षेत्रमा रहेका नेवाः समुदायलाई एकताबद्ध गर्दै मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता रहने बताए ।
उनले म्हः पूजा, नेपाल संवत् लगायतका सांस्कृतिक पर्व तथा सामाजिक सेवाका गतिविधिमार्फत समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मिडल्यान्ड्स क्षेत्रमा नेवाः समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि संस्थागत रूपमा अघि बढाइएको यस पहलले बेलायतभरिका नेवाः समुदायबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेवाः समुदायका गौरव, सगरमाथा आरोही तथा फुटबल जगलिङमा दुईवटा गिनिज वर्ल्ड रेकर्ड राखेका कीर्तिमानधारी साजन डंगोललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



