आइतबार, १८ अक्टोबर, २०२६
08:49 | १३:३४

मन्त्रोच्चारण र धार्मिक विधिबीच गगन थापाले लिए शपथ

न्युज एजेन्सी नेपाल अक्टोबर १८, २०२६

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिबार (असोज ३१) पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका हुन् ।

यही असोज १८ देखि २३ गतेसम्म राजधानीमा भएको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका थिए ।

शपथग्रहण समारोहमा व्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो । मन्त्रोच्चारण र धार्मिक विधिबीच पार्टी निर्वाचन समितिका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे ।

महाधिवेशनबाट निर्वाचित अरू केन्द्रीय पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको शपथग्रहण भने तत्काल नहुने भएको छ । बाँकी निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण कार्यक्रम यही बडादसैँ पर्वपछि मात्र आयोजना गरिने जनाइएको छ ।

शपथग्रहणसँगै सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशील नीतिसहित अगाडि बढाउने अनौपचारिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू