आइतबार, ११ अक्टोबर, २०२६
20:25 | ०१:१०

लन्डनका सन्तोष हवाई कोनामा आयोजित आइरनम्यान विश्व च्याम्पियनसीप पूरा गर्ने पहिलो नेपाली बने

नेपाली लिङ्क अक्टोबर ११, २०२६

लन्डन । नेपाली खेलाडी सन्तोष राईले अमेरिकाको हवाईस्थित कोनामा आयोजित प्रतिष्ठित आइरनम्यान विश्व च्याम्पियनसीप पूरा गर्दै इतिहास रचेका छन्।

उनले १० घण्टा १० मिनेट ३४ सेकेन्डमा प्रतियोगिता पूरा गर्दै उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली बनेका हुन्।

ट्रायथलन खेलको विश्वकै चुनौतीपूर्ण प्रतियोगितामध्ये एक मानिने आइरनम्यान विश्व च्याम्पियनसीपमा राईको सफलताले नेपाल र विश्वभरिका नेपाली समुदायलाई गौरवान्वित बनाएको छ।

कोनाको प्रतियोगिता अत्यधिक गर्मी, उच्च आर्द्रता र तीव्र हावाका कारण निकै कठिन मानिन्छ। चुनौतीपूर्ण वातावरणमा आफूलाई अभ्यस्त बनाउन राई प्रतियोगिताभन्दा १२ दिनअघि नै हवाई पुगेका थिए। उनले यस अवधिमा मौसमसँग अनुकूलन गर्नुका साथै प्रतियोगिताको मार्गमा अभ्यास र तयारी गरेका थिए।

हवाईमा रहँदा राईलाई त्यहाँस्थित नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त भयो। उनका साथी अन्वेष मान सिंहको समन्वयमा कामना किचेनका सञ्चालक तीर्थ लुइँटेल र उनको टोलीले राईलाई आवास तथा आवश्यक खाना व्यवस्था गरेका थिए।

त्यस्तै, नेपालको तर्फबाट बिमल गुरुङ र बेलायतबाट प्रदीप गुरुङ कोना पुगेर राईलाई हौसला प्रदान गरेका थिए।

राईको तयारी र सहभागितामा विभिन्न संस्था तथा नेपाली धावक समुदायको सहयोग पनि महत्त्वपूर्ण रह्यो। उनलाई एईएसएन रिक्रुटमेन्ट, एक्युरिस्ट अकाउन्ट, रियलड्रिम्स एजुकेसन कन्सल्टेन्सी, गुर्खा किचेन एल्डरसट, एसएनपी अकाउन्टिङ तथा नेपाल रन यूके र नेपाल रन ग्लोबलका सदस्यहरूले सहयोग गरेका थिए।

हिलिङ्डन ट्रायथलन क्लबका एडम एल्डरफिल्डले उनको प्रशिक्षणमा मार्गदर्शन गरेका थिए। सरोज फिजियोले खेलकुदसम्बन्धी मसाज तथा शारीरिक पुनःस्थापनामा सहयोग गरेका थिए भने पौडी प्रशिक्षणमा कञ्चन नेपाल र युवराज सुनुवारले साथ दिएका थिए।

रणनीतिक तयारीले दिलायो सफलता

राईले प्रतियोगिताका तीनै विधि—पौडी, साइकल र दौड—मा संयमित रणनीति अपनाएका थिए। सुरुवाती चरणमा अत्यधिक ऊर्जा खर्च नगरी उनले साइकल र दौडमा गति बढाउने योजना बनाएका थिए।

कठिन मौसमी अवस्थाका कारण धेरै खेलाडीलाई साइकल र दौडका क्रममा चुनौती सामना गर्नुपरे पनि राईले आफ्नो गति र ऊर्जा व्यवस्थापन गर्दै निर्धारित समयभित्र प्रतियोगिता पूरा गरे। उनको १० घण्टा १० मिनेट ३४ सेकेन्डको समयले उनको सहनशीलता, अनुशासन र लामो समयदेखिको तयारीलाई प्रतिबिम्बित गर्छ।


परेड अफ नेसन्समा पनि नेपालीको सहभागिता

राईको व्यक्तिगत सफलतासँगै प्रतियोगितास्थल कोनामा आयोजित ‘परेड अफ नेसन्स’ मा करिब २० जना नेपाली सहभागी भएका थिए। उनीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपाली समुदायको उपस्थिति र एकता प्रदर्शन गरेका थिए।

आइरनम्यान विश्व च्याम्पियनसिप पूरा गर्नु कुनै पनि खेलाडीका लागि ठूलो उपलब्धि मानिन्छ। यस्तो चुनौतीपूर्ण प्रतियोगिता पूरा गर्ने पहिलो नेपालीका रूपमा राईले हासिल गरेको सफलताले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा नयाँ सम्भावनाको ढोका खोलेको छ।

उनको उपलब्धिले नेपाली समुदायको सामूहिक सहयोग, प्रशिक्षकको मार्गदर्शन र खेलप्रतिको निरन्तर समर्पणको महत्त्वसमेत उजागर गरेको छ। राईको यो ऐतिहासिक सफलताले आगामी पुस्ताका नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलकुदमा ठूला लक्ष्य राख्न र ती लक्ष्य हासिल गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू