खेलमैदानका कारण शनिबार तय १९औं रेडिङकप रद्ध, यस वर्ष नहुने


फाइल तस्विर: १९ औं रेडिङकपबारे जानकारी दिन गतसाता आयोजित पत्रकार सम्मेलन
रेडिङ- बेलायतको रेडिङमा यही शनिबार अक्टोबर १० तारिखका दिन तय १९ औं रेडिङकप आयोजना नहुने भएको छ।
प्रतियोगिता संचालन गरिने पाल्मर पार्कस्थित खेलमैदानको अवस्था र पिचको उपलब्धतासम्बन्धी समस्याका कारण यस वर्ष आयोजना हुने भनिएको १९औँ रेडिङ कप रद्द भएको हो।
आयोजक ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसन (जीआरएनसीए) ले एक सूचना जारी गर्दै प्रतियोगिता सञ्चालनका लागि सम्भव सबै विकल्पमा प्रयास गरिए पनि खेलाडीहरूको सुरक्षामा सम्झौता गर्न नसक्ने अवस्था आएपछि प्रतियोगिता रद्द गर्ने निर्णय गरिएको जनाएको छ।
आयोजकका अनुसार स्थानीय रेडिङ बरो काउन्सिलले पाल्मर पार्कको मैदान हाल खेलकुद गतिविधि सञ्चालनका लागि उपयुक्त नरहेको जानकारी गराएको थियो।
मैदानको अवस्था र उपलब्धतासम्बन्धी समस्या समाधान गरी प्रतियोगिता सञ्चालन गर्ने प्रयास गरिए पनि अन्ततः कार्यक्रम रद्द गर्नुपरेको जनाइएको छ।
प्रतियोगिताका लागि तयारीमा जुटेका टोली, खेलाडी, परिवार तथा समर्थकहरूप्रति आयोजकले क्षमायाचना गरेको छ।
विशेषगरी प्रतियोगितामा सहभागी हुन यात्रा तथा अन्य व्यवस्थापन गरिसकेकाहरूलाई परेको असुविधाप्रति जीआरएनसीएले दुःख व्यक्त गरेको छ।
प्रतियोगिताका लागि गरिएका तयारी तथा बुकिङका क्रममा खर्च भइसकेको भए त्यसको विवरण आयोजकलाई उपलब्ध गराउन आग्रह गरिएको छ। उचित तथा आवश्यक खर्चको पूर्ण परिपूर्ति गर्ने प्रतिबद्धता समेत आयोजकले जनाएको छ।
त्यस्तै, प्रतियोगिताका लागि बुझाइएको सम्पूर्ण प्रवेश शुल्क फिर्ता गरिने जीआरएनसीएले स्पष्ट पारेको छ। रकम फिर्ताका लागि टोलीको विवरण तथा भुक्तानीसम्बन्धी जानकारीसहित [email protected] वा [email protected] मा इमेल गर्न आग्रह गरिएको छ।
यस वर्षको रेडिङकप आयोजना गर्न नसकेकोमा दुःख व्यक्त गर्दै जीआरएनसीएले प्रतियोगिताका लागि सहयोग गर्ने स्वयंसेवक, सहयोगी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ।
आगामी वर्षको रेडिङकपलाई अझ विशाल, भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


