शुक्रबार, २ अक्टोबर, २०२६
21:25 | ०२:१०

सेनाको हेलिकप्टरमार्फत म्याग्दी अन्नपूर्ण–५ का ३३ परिवारलाई एनआरएनए राहत

नेपाली लिङ्क अक्टोबर २, २०२६

काठमाडौं–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखधारा, मनभीर र सिरुबारीका ३३ बाढी तथा पहिरो प्रभावित परिवारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) को राहत सामग्री पुर्‍याइएको छ।

सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भई प्रभावित बस्तीमा राहत पुर्‍याउन कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वय तथा एनआरएनएको अनुरोधमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको हो। म्याग्दीका प्रभावित परिवारका लागि ११ लाख ८२ हजार २५० रुपैयाँ मूल्य बराबरका खाद्यान्न तथा राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरियो।

प्रवक्ता सोम नाथ सापकोटाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्  । सो क्रममा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ म्याग्दी तथा सम्बन्धित निकायसँग समन्वय गरिएको थियो ।

बागलुङको ताराखोलाका बाढीपहिरो प्रभावितलाई राहत

बागलुङको ताराखोलाका बाढीपहिरो प्रभावितलाई राहत बागलुङको ताराखोला गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्न तथा आवश्यक राहत सामग्री जिल्ला प्रशासन कार्यालय, बागलुङलाई हस्तान्तरण गरिएको छ। प्रवक्ता सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

राहत सामग्रीमा चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउलगायत खाद्यान्न तथा सिरक, डसना, सिरानी, पावर बैंक र इमर्जेन्सी लाइट छन्। यसअघि हिजो पनि बागलुङको निसिखोला र पर्वतको जलजलामा राहत वितरण गरिएको थियो । यी तिनै क्षेत्रका बाढीपहिरो प्रभावितलाई रु. ११ लाख ५० हजार लाखको बराबरको राहत वितरण गरिएको हो।

आफन्तको काजक्रिया सकेका थप २ परिवारलाई राहत सामाग्री वितरण

भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरूप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ। आज एनआरएनए सचिवालयबाट प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो। यसअघि पनि ४८ परिवारलाई सोही परिमाणमा राहत सामग्री उपलब्ध गराइएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू