बुधबार, ३० सेप्टेम्बर, २०२६
07:54 | १२:३९

बेलायतमा अवैध कामदारमाथि कडाइ, ६ महिनामा ४ हजार ७५६ पक्राउ

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२६

लन्डन- बेलायतमा गैरकानुनी रूपमा काम गरिरहेका व्यक्तिमाथि सरकारले कारबाही तीव्र बनाएको छ । होम अफिसका अनुसार सन् २०२६ को पहिलो ६ महिना अर्थात् जनवरीदेखि जुनसम्म इमिग्रेसन इन्फोर्समेन्टले देशभर ४ हजार ७ सय ५६ जनालाई पक्राउ गरेको छ ।

यस अवधिमा गैरकानुनी कामदार कार्यरत हुनसक्ने व्यवसायमा ७ हजार २ सय ७० वटा निरीक्षण तथा छापा सञ्चालन गरिएको थियो । होम अफिसका अनुसार यो बेलायतमा वर्षको पहिलो ६ महिनाका लागि अहिलेसम्मकै सबैभन्दा उच्च इन्फोर्समेन्ट गतिविधि हो । गत वर्षको यही अवधिको तुलनामा निरीक्षण ३१ प्रतिशत र पक्राउ २० प्रतिशतले बढेको छ ।

तर बेलायतले किन यति ठूलो संख्यामा कारबाही बढाइरहेको छ त ? पृष्ठभूमिमा बेलायतको आप्रवासन नीतिमा पछिल्लो समय बढेको इन्फोर्समेन्टलाई हेर्नुपर्छ । सन् २०२५ मा मात्रै गैरकानुनी कामसम्बन्धी १२ हजार ७ सय ९१ वटा निरीक्षणबाट ८ हजार ९ सय ७१ जना पक्राउ परेका थिए, जुन होम अफिसले रेकर्ड सुरु भएयताकै सबैभन्दा सफल क्यालेन्डर वर्ष भनेको थियो ।

त्यसअघि पनि २०२४ को जुलाईदेखि २०२५ को डिसेम्बरसम्म इमिग्रेसन इन्फोर्समेन्टले गैरकानुनी कामसम्बन्धी निरीक्षणमा १२ हजार ३ सयभन्दा बढी पक्राउ गरेको थियो । सरकारले इमिग्रेसन इन्फोर्समेन्ट बढाउन थप ५० लाख पाउन्ड लगानी गरेको पनि जनाएको थियो ।

अहिलेको कारबाही विशेषगरी केही व्यवसायिक क्षेत्रमा केन्द्रित देखिन्छ । जनवरीदेखि जुन २०२६ सम्म रेस्टुरेन्ट, टेकअवे र क्याफेमा मात्रै २ हजार १ सय ९५ वटा निरीक्षणबाट १ हजार ५ सय ८९ जना पक्राउ परेका छन् ।

ब्युटी उद्योग—जस्तै नेल बार, ट्यानिङ र बार्बर व्यवसायमा १ हजार ४१ वटा निरीक्षणबाट ६४८ जना पक्राउ परेका छन् । त्यस्तै, वेयरहाउस, वितरण तथा डेलिभरी क्षेत्रमा ६३५ वटा निरीक्षणबाटै ६३५ जना पक्राउ परेका छन् । निर्माण क्षेत्रमा पनि २ सय ६८ निरीक्षणबाट ३ सय ३१ जना पक्राउ परेको तथ्यांक छ । कारबाही पक्राउमा मात्र सीमित छैन ।

गैरकानुनी रूपमा कामदार राखेको भेटिएका १ हजार २ सयभन्दा बढी व्यवसायलाई सिभिल पेनाल्टी जारी गरिएको छ । यी जरिवानाको कुल मूल्य ७ करोड ४ लाख पाउन्डभन्दा बढी रहेको होम अफिसले जनाएको छ ।

तर एउटा महत्वपूर्ण कुरा—पक्राउ परेको व्यक्ति दोषी प्रमाणित भएको भन्ने अर्थ हुँदैन । होम अफिसकै तथ्यांकअनुसार पक्राउपछि सबै व्यक्ति तत्कालै बेलायतबाट फर्काइएका हुँदैनन् । जुलाई २०२४ देखि जुन २०२६ सम्म गैरकानुनी कामसम्बन्धी निरीक्षणमा पक्राउ परेकामध्ये २ हजार ३ सय ५७ जनाको मात्रै हालसम्म फर्किएको रेकर्ड छ ।

यसरी हेर्दा बेलायतले २०२६ मा गैरकानुनी रोजगारीमाथिको निगरानी र कारबाहीलाई थप तीव्र बनाएको देखिन्छ । र, पछिल्लो ६ महिनाको ४ हजार ७ सय ५६ पक्राउको तथ्यांक त्यसैको पछिल्लो संकेत हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू